![]()
इस्लामावाद,साउन ।
पाकिस्तानमा भएको आम निर्वाचनमा क्रिकेटका चर्चित खेलाडी भएर पाकिस्तानी राजनीतिमा प्रवेश गरेका इमरान खानको पार्टीको जित सुनिश्चत भएको छ। पछिल्लो मतगणनाअनुसार मत गन्न बाँकी स्थानमा विपक्षी पार्टीले जित हात पारेपनि इमरान खानको पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)’ को जित सुनिश्चित देखिएको हो। कुल २ सय ७० स्थानका लागि भएको निर्वाचनमा हालसम्मको मतगणनामा पिटीआई १ सय १८ स्थानमा विजयी भएको छ। पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले (पिएमएल एन) ले ६० सिटमा जित हात पार्दा कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले मात्र ४० स्थानमा विजयी भएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएका छन्।
उता नेता खानले गएराति नै एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो जित सुनिश्चित भएको दावी गरेका थिए। जित सुनिश्चित भएसँगै पाकिस्तानका विभिन्न प्रान्तहरुमा विजयी जुलुश निकाल्न थालिएको छ। पाकिस्तानमा केही हिंसात्मक घटनाका बीच बुधबार बिहान ८ बजे सुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो।
यसैबीच, पराजित भएका दलहरूले मत परिणाम अस्वीकार गर्ने चेतावनी दिएपछि निर्वाचन आयोगले अहिलेसम्म मत परिणाम सार्वजनिक गर्न नसकेको बताइएको छ। कतिपय अन्य दलहरूले निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गर्ने संकेत गरेका छन्। पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै अनधिकृत चुनावी परिणामलाई स्वीकार गर्न नसकिने जनाएको छ। यस्तै, पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ। आफ्नो पार्टीका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गर्नसमेत नदिइएको सो पार्टीका अध्यक्ष बिलावल भुट्टोले ट्वीटमार्फत जानकारी गराएका छन्।
राष्ट्रियसभाका २७० स्थान र ४ वटा प्रान्तीय सभाका ५ सय ७७ स्थानका लागि ९५ पार्टीका ११ हजार ६ सय ७६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। पाकिस्तानमा कूल २ सय ७० स्थान रहेको राष्ट्रियसभाबाट सरकार गठनका लागि १ सय ३७ स्थान आवश्यक पर्दछ।


