![]()
काठमाडौ,साउन ।
देशभरका चिकित्सकहरु हडतालमा उत्रेका छन् । जुम्लामा अनशनरत डा.गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् । नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको थियो ।
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन यस्तो कदम चाल्नु परेको चिकित्सक संघको भनाइ छ । केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील नभए देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।
यसअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले केसीको माग सम्बोधन गर्न आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए ।
चिकित्सक संघ हडतालमा उत्रिए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट स्वास्थ्यकर्मी भने सहभागी नहुने भएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका हुन् ।


