![]()
काठमाडौँ । नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो। साथै राजधानीमा रहेका स्वास्थ्यकर्मीहरु दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भएर प्रदर्शन गर्नेसमेत जनाएको छ।
डा. केसीले सरकारले हालै संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि डा. केदारभक्त माथेमाको संयोजकत्वमा यस सम्बन्धमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन्। उनी विगत १९ दिनदेखि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरन छन्। यो उनको १६ औं अनशन हो।


