Breaking News.... EverestOnlineKhabar
August 18, 2026

Loading

बीबीसी । बच्चाहरू बेचेको आरोप लागेपछि भारतमा मदर टेरेसाद्वारा स्थापित मिशनरिज अफ च्यारिटीबारे अनुसन्धान थालिएको छ।भारतमा सो परोपकारी संस्थाका केन्द्रहरूको निरीक्षण गर्न सरकारले अधिकारीहरूलाई आदेश दिएको छ। पूर्वी भारतको झारखण्ड राज्यमा बच्चा बेचेको आरोपमा एउटी नन र च्यारिटीकी अर्की महिला कर्मचारी पक्राउ परेपछि सो आदेश दिइएको हो।

च्यारिटीले सो घटनाबारे प्रकाशित समाचारलाई आश्चर्यजनक भन्दै घटनाबारे आफूले पनि अनुसन्धान थालेको जनाएको छ। सन् २०१५ मा सम्बन्धित कानुनमा कडाइ गरिएपछि भारतमा अवैधानिक रूपमा धर्मपुत्र-धर्मपुत्री उपलब्ध गराउने व्यापार मौलाएको बताइन्छ।

मङ्गलवार भारतको महिला तथा बालकल्याण विभागले एउटा विज्ञप्ति जारी गर्दै सबै राज्यहरूलाई मिशनरिज अफ च्यारिटीद्वारा सञ्चालित बालसेवा गृहहरूको तत्काल निरीक्षण गर्न निर्देशन दिइएको जनाएको छ।

झारखण्डको बालकल्याण समितिले अविवाहित गर्भवती महिलाहरूका लागि स्थापित एउटा केन्द्रबाट एउटा शिशु हराएको भनेर उजुरी हालेपछि प्रहरीले जुन ५ मा दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार सो शिशु उनकी आमाको अस्पतालमा भएको खर्च बेहोरिदिने दम्पतीलाई बेचिएको हुनसक्छ।

च्यारिटीले सो घटना आफ्नो नैतिक मूल्य र मान्यताविरुद्ध भएको बताएको छ। मिशनरिज अफ च्यारिटीकी सुनिता कुमारले भनिन्, “यदि भएको हो भने फेरि त्यस्तो नहोस् भनेर हामी आवश्यक सावधानी अपनाउनेछौँ।”

नोबल शान्ति पुरस्कार प्राप्त मदर टेरेसाले सन् १९५० सो संस्थाको स्थापना गरेकी थिइन्। उनको मृत्यु सन् १९९७ मा भएको थियो। कोलकातामा मुख्यालय भएको सो संस्थाले सेवाश्रम, विद्यालय, भान्छा, त्यागिएका बच्चाहरूलाई घर र कुष्ठरोगीहरूलाई आवास सञ्चालन गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.