![]()
बझाङ,असार ।
बझाङ जिल्लाको बुंगल नगरपालिकाको भवन कहाँ बनाउने भन्ने विषयमा झडप हुँदा शनिबार पाँचजना स्थानीय र दुईजना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक जनक धामी र प्रहरी सहायक निरीक्षक गंगा बोहरा रहेका छन् । यस्तै, घाइते हुने स्थानीयहरुमा बुंगल नगरपालिका वडा नम्बर–४ का दीपकराज जोशी, धनराज जोशी, विष्णु कुँवर, वडा नम्बर–५ का निर्वाचित सदस्य केशव नाथ र वडा–५ कै सुरेश भण्डारी रहेका प्रहरीले जनाएको छ ।
स्थानीयहरुले सो नगरपालिकाका मेयर धनबहादुर विष्टको पुत्लासमेत जलाएका छन् । नगरपरिषद्ले वडा नम्बर–५ मा नगरपालिकाको भवन बनाउने सर्वसम्मत् निर्णय गरेपछि स्थानीयहरुले वडा नम्बर–४ को बिजगडामा नै हुनुपर्ने भन्दै नाराजुलुुसहित ढुंगामुढा गरेका थिए ।
जनप्रतिनिधिहरुले मनोमानी ढंगले निर्णय गरेको भन्दै आन्दोलन गर्नुपरेको वडा नम्बर ५ का स्थानीयको दावी छ । नगरपरिषदले गरेको निर्णयसमेत स्थानीयहरुले च्यातिदिएका छन् । स्थानीयले जनप्रतिनिधिहरुलाई करिब दुई घन्टासम्म चर्पीमा थुनेका थिए । जुत्ता, चप्पलको माला र कालोमोसो दल्ने भन्दै तयारीमा रहेका स्थानीयहरुलाई रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपमा परी घाइते भएका स्थानीय सुरेश भण्डारीको टाउकोमा सातओटा टाँका लगाइएको छ । निर्वाचित सदस्य नाथको हातमा चोट लागेको जनाइएको छ । केही स्थानीयले झापामा केन्द्र सार्नुपर्ने माग गरिरहेका र केही स्थानीयले बिजगडामा नै यथावत् हुनुपर्ने भन्दै आएपनि शनिबार दिउँसो नगरपालिकाको नगरसभाले बिजगडा र झापाकोबीचमा रहेको हाटकोटमा सार्ने सर्वसम्मत् निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
कार्यालय सार्न खोज्दा स्थानीयहरुले नगर कार्यालय घेराउ गरेको र प्रहरीले रोक्न खोज्दा झडप भएको स्थानीयले बताएका छन् । सो घटनापछि प्रहरी नायब उपरीक्षकसहित ५० जनाको टोली घटनास्थलतिर गएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले जानकारी दिए ।


