![]()
जुम्ला,असार ।
चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनरत डा.गोविन्द केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् । वार्ताका लागि गोविन्द केसी तयार नभएको सरकारी भनाइ प्रकाशमा आएलगत्तै केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन् । उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह गर्नुभएको छ ।
विज्ञप्ती मार्फत डा.केसीले भनेका छन्ः‘यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,हामी कुनै पनि बेला वार्ताका लागि तयार छौं ।’
केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् । दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् ।
चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग राखेर जुम्लामा डा.केसी अनशन बसेको आज १२ दिन पुगेको छ । उनको स्वास्थ्य बिग्रिदैँ गएको छ ।


