![]()
काठमाडौं । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो ।
निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने छ। बढेको शुल्कअनुसार नै सेवाहरुमा शुल्क वृद्धि गरिनेछ ।
इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले पनि साउन १ गतेबाट इन्टरनेटको शुल्क वृद्धि गर्ने तयारी गरेका छन् । टेलिफोनमा ११ प्रतिशत रहेको दस्तुर १३ प्रतिशत पुर्याएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । अब सबै सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्नेछ । टेलिफोन सेवामा करिब ३ प्रतिशत मूल्य बढ्ने अनुमान छ ।
सरकारले बजेटमार्फत इन्टरनेट सेवामा पनि दूरसञ्चार सेवा दस्तुर लगाउन सुरु गरेको छ । यसअघि नलिइने यस्तो दस्तुर एकैपटक १३ प्रतिशत पुर्याएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले विरोध गर्दै आएका छन् ।


