![]()
एजेन्सी,जेठ ।
फुटबलको महाकुम्भ विश्वकप भोली अर्थात बिहीबारदेखि रसियामा सुरु हुँदैछ । यही विश्वकपदेखि आइसल्याण्ड र पानामाले डेब्यु गर्दैछन् । विश्वकपमा पहिलो पटक आइसल्याण्ड र पानामाले डेब्यु गर्दैछन् भने यी दुई राष्ट्रको प्रदर्शन कस्तो होला ? विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप खेल्न लागेका यी दुई टिमले विश्वकपमा पनि आफ्नो प्रभाव छोड्लान् ?
आईसल्याण्ड
करिब ३ लाख ५० हजार भन्दा केही मात्रै बढि जनसंख्या भएको देश आइसल्याण्डले पहिलो पटक विश्वकप खेल्न लागेको हो । विश्वकपमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्यमा रहेको छ । त्यसो त, आइसल्याण्डले २०१६ को युरोकपमा पनि अपत्यारिलो तरिकाले क्वाटरफाइनलसम्मको यात्रा पार गरेको थियो ।
समूह डी मा रहेको आइसल्याण्डसँगै अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया रहेका छन् । समूह चरणको पहिलो खेलमा आइसल्याण्डले अर्जेन्टिनासँग जुन १६ मा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, २२ जुनमा नाइजेरियासँग प्रतिस्पर्धा गर्ने आइसल्याण्डले समूह चरणको अन्तिम खेल क्रोएसियासँग २६ जुनमा खेल्दैछ ।
पानामा
पानामा नर्थ, सेन्ट्रल अमेरिकन एण्ड क्यारेवियन क्षेत्रबाट विश्वकपमा पहिलो पटक छनोट भएको राष्ट्र हो । विश्वकप छनोटमा अमेरिका, होण्डुरस जस्ता बलिया राष्ट्रलाई पछि पार्दै पानामा विश्वकपमा छनोट भएको थियो । छनोट चरणमा दमदार प्रदर्शन गरेको पानामा विश्वकपमा पनि उहि स्तरको प्रदर्शन गर्ने दाउमा छ । पानामाको लागि यो सुवर्ण अवसर हो, विश्वकप फुटबलमा आफ्नो इतिहास बनाउने । विश्वकपमा पानामा समूह जी मा रहेको छ । यो समूहमा पानामासँगै इंग्ल्याण्ड, बेल्जियम र ट्युनिसिया रहेका छन् । पानामाले आफ्नो पहिलो खेल १८ जुनमा बेल्जियमसँग खेल्दैछ । त्यस्तै, २४ तारिखमा इंग्ल्याण्डसँग खेल्ने पानामाले समूह चरणको अन्तिम खेल २८ जुनमा ट्युनिसियासँग प्रतिस्पर्धा गर्दैछ ।


