![]()
काठमाडौ,जेठ ।
३३ किलो सुन प्रकरण बारे छानविन गर्न गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान टोलीले सम्पत्ति जफत कानुनी र सामान्य प्रक्रिया भएको बताएको छ । टोलीले अनुसन्धान टोलीको अबको मुख्य ध्यान सुनका मुख्य लगानीकर्ता भनिएका एमके अर्थात मोहनकुमार अग्रवालमै केन्द्रित गरेको जनाएको छ ।
‘ एमकेसँगै गोरेका भाइ रमेश उप्रेतीको व्यापक खोजी गरिरहेका छौं, उनीहरु समातिएपछि थप नयाँ तथ्य आउँछ भन्नेमा ढुक्क छौं ।’ टोलीका एक सदस्यले भने । गोरेका भाइ रमेश उप्रेती दुबईमा रहेको र एमके भारतमा लुकेर बसेको आशंका टोलीले गरेको छ । गत शुक्रबार मात्रै अनुसन्धान टोलीले एमकेको घरमा छापा मारेको थियो ।
एमकेको घरबाट सुनको कारोबारबारे महत्वपूर्ण सूचना बरामद भएको टोलीको दाबी छ । यसैबीच गृह मन्त्रालयको विशेष छानबिन टोलीले राजेन्द्रकुमार शाक्यले राजधानीका तीन स्थानमा सञ्चालन गरेको आरके ज्वेलर्समा छापा मारेर त्यहाँ भएका सबै सुनचाँदी लगायतका धातु जफत गरेको छ । टोलीका एक सदस्यका अनुसार ३५ प्रकारका गरगहना भेटिएको छ । तीनवटा पसलमा गरी झण्डै ३० करोड बढी मूल्य बराबरको सामान हुनसक्ने टोलीले अनुमान गरेको छ । ती सबै सामान समितिले जफत गरेको छ ।


