![]()
काठमाडौ,जेठ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न चलखेल सुरु गरेका छन् । यातायात व्यवसायीको आर्थिक प्रलोभनमा परेर मन्त्री महासेठ २० वर्ष नाघेका सार्वजनिक सवारी साधनलाई सञ्चालन गर्न लागेका हुन् । २० वर्ष नाघेका प्रतिबन्धित सवारी साधनलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् ।
यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि २० गतेसम्म पुराना सार्वजनिक सवारीलाई देशभर गुडाउन प्रतिबन्ध लगाएको थियो । ०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० वर्षभन्दा पुराना सम्पूर्ण सार्वजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीको दबावमा मन्त्री महासेठले यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णय उल्टाउन चलखेल सुरु गरेका छन् ।
काठमाडौं उपत्यकाबाट ०७३ फागुन १८ देखि २० वर्ष नाघेका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो । देशभर भने यो निर्णय गत चैत १ देखि कार्यान्वयनमा ल्याइएको थियो ।


