![]()
काठमाडौ,जेठ ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३–३ रुपैयाँ वृद्धि गरेकोे हो । पछिल्लो मुल्यबृद्धि ३ महिनाको अवधिमा चौथो पटक हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका सञ्चालक समितिले जनाएको छ ।
भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।
यो घाटा मूल्य स्थिरीकरण कोषबाट ब्यहोर्ने योजना निगमको छ । करिब साढे ४ अर्ब जम्मा भएको यो कोषबाटघाटा ब्यहोर्न निनगमले सरकारसँग प्रस्ताव गरेको निगमका कार्यकारी निर्देशक सुशिल भट्टरार्इले जानकारी दिए ।
निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५–१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ ।


