![]()
काठमाडौ,जेठ ।
गणतन्त्र दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनले आज बिहान काठमाडौंमा प्रभातफेरि कार्यक्रम गरेका छन् । विद्यार्थी संगठनहरुले भृकुटीमण्डपमा जम्मा भइ पुतलीसडक हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरी कार्यक्रम समापन गरेका थिए । प्रभातफेरिमा विद्यार्थीहरुले गणतन्त्र दिवस जिन्दावाद, गणतन्त्रको उपहारः शिक्षा, स्वास्थ्य र रोजगार, वीर सहिद अमर रहुन्, गणतन्त्रको उपहारःसुखी नेपाली, समृद्ध नेपाल लेखेको प्लेकार्ड बोकेका थिए । प्रभातफेरि पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु उपाध्यक्ष सुनिता बराल, अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले गणतन्त्रले सहिदका सपना पूरा गर्नुपर्ने धारणा राखेका थिए ।
संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र दिवसको अवसरमा यसअघि दिइने गरेको सार्वजनिक विदा भने यस वर्ष कटौती भएको छ । तर, सरकारले काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह आयोजना गरेको छ ।


