![]()
नुवाकोट । नुवाकोटको समाजिक संस्था यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले यसपटक पनि जिल्लाबाट एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यालय तथा बिद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ ।
्नेपाली कांग्रेस नेता अर्जुनरनरसिंह केसी, जगदिश्वरनरसिंह केसी र चिकित्सक केदारनरसिंह केसीले आफना आमाबुवाको सम्झनामा स्थापना गरेको ट्रष्टले २०६५ सालदेखि नै प्रत्येक बर्ष (पुरानो एसएलसी र हालको एसइइ) परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यालय तथा बिद्यार्थीलाई सम्मान गर्ने गरेको छ ।
एसएलसी एसइइमा रुपान्तरण भएपछि २०७१ सालबाट सम्मान तथा पुरस्कार बितरणको कार्यक्रम रोकिएको थियो । ट्रष्टले २०७१ सालदेखि २०७३ सालसम्म उत्कृष्ट अंक ल्याएका बिद्यालयका साथै त्यो बेलाका उत्कृष्ट एक जना छात्र र एक छात्रालाई अहिले सम्मान गर्ने भएको छ । ट्रष्टले यही जेठ १९ गते नुवाकोटको बिदुरमा सम्मान तथा पुरस्कार बितरण कार्यक्रम राखेको ट्रष्टका महासचिव एवम कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार २०७१ सालमा जिल्लामा सामुदायिक बिद्यालयतर्फबाट उत्कृष्ट हुने ऐसेलुभूमे मावि काहुलेका निराजन भट्ट र जनज्ञान निकेतन मावि थानापतीकी छात्रा मनिषा भट्ट, २०७२ मा चण्डेश्वर मावि तुप्चेका निकेश नेपाल र कालिका मावि कविलासका सुमन खनाल तथा भवानी मावि रानीपौवाकी छात्रा शर्मिला लामा सम्मानित हुने भएका छन । यस्तै, २०७३ सालमा शक्ति मावि दाङमैका राजन पाण्डे र ज्ञानज्योती मावि फिकुरीकी अस्मिता ओझा तथा पृथ्वी मावि बिदुरकी योजना सापकोटालाई सम्मान तथा पुरस्कार बितरण गरिने छ ।
पुरस्कारको राशी जनही दश हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
महासचिव केसीका अनुसार संसारको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी जिल्लाको पहिचान कायम गरेकोमा युवा आरोही विवेक पाण्डेलाई पनि सम्मान गरिने छ ।
प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले पुरस्कार तथा सम्मान बितरण गर्नुहुनेछ ।


