![]()
काठमाडौं । पूर्र्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले तत्कालिन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालले आफूविरुद्ध षडयन्त्र गरेर चरित्र हत्या गर्न खोजेको आरोप लगाउनु भएको छ ।
एभरेष्ट अनलाइन खबरसंग कुराकानी गर्दै वरिष्ठ नेता खनालले पार्टी एकताका लागि आफू मरिमेटेर लागेको देख्दादेख्दै आफूबिरुद्ध अनर्गल प्रचार गरेको र पार्टी एकताका बिषयमा कुनै जानकारी नदिएको आरोप लगाउनुभयो । पार्टी एकता हुने अघिल्लो दिन ओली र आफू एउटै कार्यक्रममा हुँदा पनि एकताको बारेमा आफूलाई कुनै जानकारी नदिएको आरोप उहाँले लगाउनुभयो ।
नेता खनालले भन्नुभयो, ‘ मलाई पार्टी एकताको घोषणा कार्यक्रमबारे केही जानकारी दिइएन, स्वास्थ्य उपचारका लागि चीन गएको थिए, त्यसलाई बंग्याएर पार्टी एकतालाई उपेच्छा गरी ब्यापारिक कामका लागि चीन गएको भनी प्रचार गरियो, यो सरासर मेरो चरित्र हत्या हो । ’
नेता खनालले आफनो अनुपस्थितिमा आफूसंग सल्लाह नै नगरी जुन हिसाबले वरियता निर्धारण गरिएको छ त्यो आफनो मानमर्दन भएको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । माधव नेपालभन्दा तल पारिएको वरियता कदापी स्वीकार नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।
वरिष्ठ नेता खनालले ओली र माधव नेपालको मिलेमतोमा पार्टी्भित्र दमनचक्र चलाउन खोजिएको आरोप लगाउँदै ईश्वर पोखरेल, भीम रावल लगायतका नेताहरुमाथि पनि अन्याय भएको आरोप लगाउनुभयो ।
एमाले र माओवादी केन्द्रबीच एकता हुनुको सम्पूर्ण श्रेय पुष्पकमल दाहाल प्रचण्डलाई जाने उहाँले स्पष्ट पार्नुभयो । पार्टीको आन्तरिक राजनीतिमा अब आफनो साथ प्रचण्डलाई हुनसक्ने संकेत गर्दै खनालले भन्नुभयो, ‘ पार्टीभित्र दमनचक्र चलाउनेलाई कसरी साथ दिने ?’
नयाँ पार्टीको केन्द्रीय सदस्य चयन गर्नेक्रममा पनि छलफल नभएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।


