![]()
बीबीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीचमा उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ। अमेरिकासँगको शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछि भएको यस कुराकानीलाई महत्वका साथ हेरिएको छ। फोनवार्ता उत्तर कोरियामा नै केन्द्रित भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।
अमेरिकाले यसअघिको सहमति विपरित संयुक्त सैन्य अभ्यासका विषयमा विवाद उत्पन्न गराएको भन्दै उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्ता नगर्ने चेतावनी दिँदै आएको छ। अमेरिकासँगको विवादकै कारण उत्तर कोरियाले यसै साता दक्षिण कोरियाका उच्च अधिकारीहरुसँगको बैठक पनि अन्तिम समयमा आएर स्थगित गरेको थियो।
टेलिफोनमा भएको ट्रम्प र मुनको कुराकानीका क्रममा दुई देशले अझ नजिक भएर सहकार्य गर्ने समझदारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। ट्रम्पलाई भेट्न मुन आउँदो मङ्गलबार वासिङ्टन जान लागेका छन्। उत्तर कोरिया र अमेरिकाको शिखर वार्तालाई सफल बनाउने वातावरण बनाउन भन्दै मुन वासिङ्टन जान लागेका हुन्।
उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति ट्रम्प बीच आउँदो जुन १२ तारिखमा सिंगापुरमा शिखर वार्ता गर्ने तय भएको छ।


