Breaking News.... EverestOnlineKhabar
September 1, 2026

यो सिजनको सगरमाथा आरोहण सुरु भएको पहिलो दिन ८ शेर्पा चुचुरोमा

Loading

सोलुखुम्बु,बैशाख ।
यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण सुरु भएको छ। ८ जना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो। रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ। विभागका महानिर्देशक दिनेश भट्टराईले ८ जना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए।
सगरमाथा आधार शिविर (वेस क्याम्प) मा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आइतबार दिउँसो ३ः३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुचुरो पुगेका हुन्। योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ।अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतीक्षामा छन्। बेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही रहेको र सोमबार र मंगलबार झन्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्। आरोहणका लागि मौसम अनुकूल देखिएकाले यो वर्षको आरोहण उत्साहजनक हुने श्रेष्ठको भनाइ छ।  सगरमाथाको चुचुरो पुग्ने शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.