Breaking News.... EverestOnlineKhabar
June 27, 2026

जनकपुरमा मोदीका चार घण्टा :‘जनकपुर बिमानस्थलदेखि जानकी मन्दिरमा पूजा अर्चना र बाह्बिघामा अभिनन्दन’ (फोटोफिचर )

Loading

जनकपुर । एयर इन्डियाको विमानबाट साढे १० बजे जनकपुर विमानस्थलमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरे । विमानस्थलबाट मोदी करिब ५ किलोमिटर टाढा रहेको जानकी मन्दिर पुगे, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली उनलाई स्वागत गर्न पर्खिरहेका थिए ।

ओली मोदीलाई स्वागत गर्न कुर्ता–पाइजामा तथा गम्छामा सजिएर बिहानै जानकी मन्दिर पुगेका थिए । ओलीले स्वागत गरेपछि मोदी जानकी मन्दिर छिरे र शोषडोपचार विधिबाट विशेष पूजाआजा गरे । पूजा सकेर मोदीले संक्षिप्त सम्बोधन गर्दै ओली र जनकपुरबासीलाई आतिथ्यताका लागि धन्यवाद दिए । त्यस्तै, ओलीले ओलीलाई स्वागत गर्दै भारतसँगका पुराना सम्झौता कार्यान्वयन गर्नुपर्ने कुरा पनि उठाए ।

सम्बोधनपछि दुवैले नेपाल र भारतका विभिन्न स्थान समेटिएको रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा उद्घाटन गरे ।

त्यसपछि मोदी बाह्रबिघा मैदानतिर लागे, जहाँ उनको अभिनन्दनको कार्यक्रम राखिएको थियो । कार्यक्रमको सुरुमा राजपा नेता जितेन्द्र सोनलले हिन्दीमा बोल्दै मोदीको स्वागत गरे । त्यसपछि रक्षामन्त्री ईश्वर पोखरेलले लिखित भाषणमा मोदीको प्रशंसा र स्वागत गरे ।

पोखरेलपछि दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बोले अनि जनकपुर उपहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले मोदीलाई जनकपुरको साँचो हस्तान्तरण गरे । कुनै पनि विदेशी पाहुनालाई नगरको साँचो दिनुको अर्थ तपाईं जुनसुकै बेला नगरको भ्रमणमा आउन सक्नुहुन्छ भनेर निमन्त्रणा दिनु हो ।

मोदीलाई १२१ किलोका छुट्टाछुट्टै तीनवटा माला पनि पहिर्याइएको थियो ।

कार्यक्रमको अन्त्यमा बोलेका मोदीले नेपाल र भारतबीचको सम्बन्ध त्रेतायुगदेखिको भएको बताए । नाकाबन्दीपछि पहिलोपल्ट नेपाल आएका मोदीले त्यसबारेमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको थियो तर उनले आफ्नो सम्बोधनका क्रममा नेपाल र भारतबीचको सम्बन्ध कसैले पनि भत्काउन नसक्ने खालको बताए । नाकाबन्दीका बारेमा भने केही पनि बोलेनन् ।

हिन्दीमा सम्बोधन गरेका मोदीले नेपाली भाषामा भने, “मेरो यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा र एउटा तिर्थ यात्रीको रुपमा रहनेछ  । जनकपुरको कार्यक्रमपछि मोदी काठमाडैं प्रस्थान गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.