![]()
काठमाडौ,बैशाख ।
कांग्रेस केन्द्रीय समितिमा देखिएको विवादको असर भातृ संस्थाहरुमा पनि देखिन थालेको छ । कांग्रेसको भातृसंगठन नेविसंघ सबैभन्दा बढी विवादको असर देखिएको छ । त्यसो त अधिवेशनदेखि नै नेविसंघभित्र दुईपक्षबीच पानी बाराबारको अवस्था थियो । अहिले भने यो विवादको अवस्था चरमचुलिमा पुगेको छ । आज नेपाल विद्यार्थी संघका दुई समूहले एकै ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्ने भएका छन्। पार्टीमा पछिल्लो समय गुटगत विवाद चर्किरहेको बेला विद्यार्थी संगठनले आफू पक्षका नेताहरु ल्याएर सम्बोधन गराउँदैछन् ।
सुन्दरीजलस्थित ऐतिहासिक बिपी संग्रहालयभित्र हुने दुवै कार्यक्रको लागि स्थान र समय जुधाइएको छ। बिहान ८ बजे आयोजना गरिएको दुवै कार्यक्रम एकै स्थानमा हुने बताइएको छ।
नेविसंघ सभापति नैनसिंह महरको समूहले गरेको कार्यक्रममा बिपी संग्रहालयको हलभित्र हुने भएको छ भने महामन्त्री कुन्दनराज काफ्लेको समूहले गरेको कार्यक्रम संग्रहालयको परिसरभित्र हुने बताइएको छ। महर समूहको कार्यक्रमलाई सभापति शेरबहादुर देउवा र काफ्ले समूहको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललाई मुख्य अतिथि बनाइएको छ।
संस्थापन समूहले प्रशिक्षण कार्यक्रम राखेको छ भने पौडेल–सिटौला पक्षका विद्यार्थीहरुले‘१२ औं महाअधिवेशनका लागि विधान एवं नियमावली सम्बन्धमा छलफल तथा अन्तर्क्रिया’ राखेको छ। एक दिनको लागि राखिएको प्रशिक्षणमा संस्थापन सभापति देउवा निकटका नेताहरुले प्रशिक्षण दिने छन्।
महर समुहले बोलाएको प्रशिक्षणमा देउवा नजिकका नेताहरुको बाहुल्यता छ। नेताहरु विमलेन्द्र निधि, डा.शशांक कोइराला,पूर्ण बहादुर खड्का, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, प्रदीप गिरि र किशोरसिंह राठोरले प्रशिक्षण दिने भएका छन्। देउवा पक्ष इतरका नेताहरुलाई पनि प्रशिक्षक बनाइए पनि उनिहरुको उपस्थिति बारे टुंगो लागेको छैन। पौडेल निकट रहेकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवलाई पनि प्रशिक्षक बनाइएको छ। त्यस्तै नेविसंघका पूर्वसभापति गुरुराज घिमिरे र भीमसेनदास प्रधानलाई पनि निम्तो गरिएको छ।
पौडेल–सिटौला पक्षका विद्यार्थीले गरेको अन्तर्क्रिया कार्यक्रममा सोही समूहका नेताहरु सहभागी हुने छन्। महामन्त्री काफ्लेको नेतृत्वमा आयोजना गरिएको छलफल तथा अन्तर्क्रियामा पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला तथा केन्द्रीय नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.शेखर कोइराला, प्रदीप पौडेल र रञ्जित कर्ण सहभागि हुने बताइएको छ।
एकै स्थान र उही समयमा दुई समूहले कार्यक्रम गर्ने भएकोले कार्यक्रम नै हुने नहुने अन्योल रहेको एक विद्यार्थी नेताले बताए। नेविसंघ सभापति नैनसिंह महरले संघको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार कार्यक्रम गर्न लागिएको बताउँछन्। संघको नीतिभन्दा बाहिर रहेर गर्ने कार्यक्रम नेविसंघको नहुने उनले बताए।


