![]()
बुटवल,बैशाख ।
पाँच नम्बर प्रदेशसभा सचिवालयले प्रदेशसभाका कर्मचारीका लागि भन्दै सार्वजनिक गरेको लोगो विवादमा परेको छ। प्रदेशसभा सदस्यका लागि फागुन २४ गते खुल्ला प्रतिस्पर्धाबाट प्रतिक चिन्ह अर्थात लोगो आव्हान गरेको थियो। उक्त आब्हान अनुसार १२ जना प्रतिस्पर्धी कलाकारले लोगो डिजाईन गरी प्रतिस्पर्धामा भाग लिएका थिए। त्यसमा दाङका खगेश्वर भण्डारीले तयार गरेको प्रतिक चिन्ह अर्थात लोगो उत्कृष्ट भएपछि प्रदेशसभा सदस्यको लागि तय गरियो। सोही प्रतिस्पर्धामा दोस्रो भएको तिलोत्तमाका सुधीर अर्यालले तयार गरेको लोगोलाई कर्मचारीहरुको लोगोको रुपमा सार्वजनिक गरिएको छ।
तर कर्मचारीहरुका लागि लोगो तयार गर्ने बिषयमा कुनै पनि सूचना तथा सार्वजनिक आब्हान नगरिएको र आफूहरूसँग कुनै छलफल नै नगरिएको भन्दै प्रदेशसभा सदस्यहरुले गुनासो गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले कर्मचारीका लागि लोगो राख्ने विषयमा कुनै छलफल नभएको बताए। पोखरेलले आफूसँग छलफल होईन कर्मचारीका लागि लोगो तयार हुँदैछ भन्ने जानकारी समेत नभएको गुनासो गरे।
उनले प्रदेशसभा सचिवालयले आयोजना गरेको लोगो सार्वजनिक कार्यक्रममा समेत प्रतिपक्षलाई बेवास्ता गरिएको गुनासो गरेका छन्।‘देख्नु भएन प्रदेशसभा सचिवालयको पहिलो कार्यक्रममा प्रतिपक्षी दलको नेता कहाँ बसेको थियो ?’ उनले कार्यक्रम सञ्चालन प्रक्रियामा समेत घुमाउरो पारामा असन्तुष्टि व्यक्त गरे। कतिपय सांसदहरू आफूहरू प्रदेशसभाको लोगो सार्वजनिक गर्ने कार्यक्रम भनेर नगएको भन्दै सार्वजनिक गर्ने बेलामा उद्घोषकबाट मात्र कर्मचारीको लागि समेत लोगो तयार गरिएको जानकारी पाएको बताए ।
पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यो विषय प्रदेश सरकारको विषय नभई प्रदेशसभाको विषय भएकोले आफूले कुनै टिप्पणी नगर्ने बताए।


