![]()
काठमाडौ,बैशाख ।
सिण्डिकेट हटाउने सरकारी कदमको स्वागत गर्दै कागजमा हस्ताक्षर गरेपछि पक्राउ परेका नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य लगायत पदाधिकारीहरु रिहा भएका छन्। अबदेखि हडताल नगर्ने कागज गरेर उनीहरु छुटेका हुन्। छलफलपछि उनीहरु सबै आन्दोलन फिर्ता लिई सरकारले थालेको सिन्डिकेट विरुद्ध अभियानमा साथ दिन तयार भएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले जानकारी दिए ।
यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्य, महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वांर, महासचिव सरोज सिटौला, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र महासंघको ३ नम्बर प्रदेश संयोजक धर्मराज रिजाल अबदेखि आन्दोलन नगर्ने कागज गरेर छुटेका हुन्। शुक्रबार यातायात व्यवसायीहरु देशभर गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरेका थिए। त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो। अध्यक्ष कर्माचार्य, महासचिव सरोज सिटौला लगायत अधिकारी काठमाडौंमा पक्राउ परेका थिए।
पक्राउ परेका अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरु नै कागज गरेर रिहा भएसँगै देशभरबाट पक्राउ परेका अन्य व्यवसायी पनि कागज गरेर छुट्नेक्रम जारी छ । समितिहरु खारेज गर्ने तथा देशभर रुट परमिट खुला गरेको विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए। २७ गतेदेखि गाडी अनिश्चितकालीन रुपमा थन्क्याउने योजनामा रहेका व्यवसायी विरुद्ध सरकार आक्रामक बनेपछि उनीहरु निरीह बनेका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलको रोहबरमा व्यवसायीले सरकारी निर्णयअनुसार व्यवसाय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। त्यसविरूद्ध गए रूट पर्मिट खारेज गरेर अरू कारबाहि गर्न पनि उनीहरूले मन्जुरी दिएका छन्। बस नचलाउने ९३ व्यवसायीलाई शुक्रबार र शनिबार प्रहरीले पक्राउ गरेको थियो।


