![]()
एजेन्सी,बैशाख ।
स्वेच्छिक मृत्यु रोज्दै १०४ वर्षे एक वैज्ञानिकले घर छाडेका छन् । पर्यावरण सम्बन्धी प्रख्यात वैज्ञानिक अष्ट्रेलियाका डेभिड गुडअल बटनीले बुधबार घर छाडेका हुन् । उनको स्वास्थ्यमा कुनै ठूलो समस्या छैन । तर उनी आफ्नो जीवनको सम्मानजक अन्त चाहान्छन् । उनी भन्छन् उनको स्वतन्त्रता खोसिँदैछ, त्यसैले यस्तो निर्णय लिइएको हो । गत महिना उनले आफ्नो १०४ औं जन्मदिनको अवसरमा अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग भनेका थिए,‘मलाई यो उमेरमा पुगेको पछुतो छ । म खुसी छैन । म मर्न चाहान्छु । वास्तवमा यसबाट दुःखी हुनुपर्ने त छैन तर यसलाई टार्न सकिने भए राम्रो हुन्थ्यो ।’
लामो बहस र विवादपछि गत वर्ष अष्ट्रेलियाको एक राज्यमा स्वेच्छिक मृत्युलाई कानुनी मान्यता दिइएको थियो । तर, स्वेच्छिक मृत्यु त्यो व्यक्तिले मात्र रोज्न पाउँछ जो गम्भीर बिरामी छ । डा. गुडअलका अनुसार उनी स्वेच्छिक रुपमा आफ्नो जीवन अन्त्य गर्नका लागि स्विटजरल्याण्डको एक क्लिनिकमा जानेछन् । त्यसैले उनले अस्ट्रेलिया छाड्ने निर्णयमा पुगे ।
लण्डनमा जन्मिएका डेभिड गुडअल केही हप्ता अघिसम्म पश्चिम अस्ट्रेलियाको पर्थमा एक सानो फ्ल्याटमा एक्लै बस्दै आएका थिए । उनले सन् १९७९ मा जागिर छाडेका थिए । त्यसपछि उनी लगातार फिल्ड वर्कमा लागिरहे । हालै उनले‘इकोलोजी अफ द वर्ल्ड’ नामको ३० भागको किताबको सम्पादन गरेका थिए ।
१०२ वर्षको उमेरमा २०१६ मा उनले पर्थको एडिथ कोवान विश्वविद्यालय परिसरमा काम गर्ने सम्बन्धमा कानुनी लडाइँ जितेका थिए । त्यहाँ उनले अवैतनिक रिसर्च एसोसिएटको रुपमा काम गरेका थिए ।
बुधबार अस्ट्रेलियाको बाहिर आफ्नो यात्रामा निस्किएका डा.गुडअलका साथ उनको साथी केरल ओनिल पनि छिन्, जो एसिस्टेड डाइङ्ग एड्भोकेसी समूह एक्जिट इन्टरनेशनलको प्रतिनिधि हुन् । केरल ओनिल भन्छिन्ःविश्वद्यालयलाई डा.गुडअलको स्वास्थ्य, सुरक्षा र आवत–जावतसँग सम्बन्धी चिन्ता थियो । तर यस मामिलामा गुडअलको जीत भयो र उनी आफ्नो घर नजिक एक ठाउँमा काम गर्न थाले । तर, उनको कामकाजसँग जोडिएका विवादबाट उनी धेरै प्रभावित भए ।
स्विटजरल्याण्ड नै किन रोजे ?
स्विटजरल्याण्डले १९४२ देखि असिस्टेड डेथको मान्यता दिएको छ । अरु देशमा पनि स्वेच्छिक रुपमा आफ्नो जीवन अन्त्य गर्न पाउने कानुन त बनाएका त छन् तर त्यसका लागि गम्भीर बिरामीलाई शर्तको रुपमा राखिएको छ ।
अस्ट्रेलियन मेडिकल एसोसिएशन असिस्टेड डाइङको कडा विरोध गर्दै आएको छ । र, उसले यसलाई अनैनिक मान्दछ ।
एसोसिएशनका अध्यक्ष डा. माइकल गेनन भन्छन्ः‘ डाक्टरहरुलाई मानिस मार्न सिकाइदैन । यस्तो गर्नु गलत हो । यो सोच हाम्रो ट्रेनिङ र नैतिकताको गहिराइसँग जोडिएको छ ।’
केरल ओनिल भन्छिन्ः‘डा. गुडअल शान्तिपूर्वक र इज्जतका साथ यस दुनियाबाट विदा लिन चाहान्छन् । उनी उदास या दुःखी छैनन् । तर अब पहिलेको जस्तो बाँच्ने चाहना उनमा छैन ।’
डा. गुडअल बिजनेस क्लासमा यूरोपसम्म यात्रा गर्न सकुन् भनेर एक अनलाइननले २० लाख अस्ट्रेलियन डलर संकलन गरेको छ । स्विटजरल्याण्ड जानुभन्दा अघि डा। गुडअल फ्रान्समा आफ्नो परिवारका सदस्यहरुलाई भेट्नेछन् । र, आफ्नो यात्रा अघि बढाउने छन् । डा. गुडअल भन्छन्ः‘म जस्तो एक बूढो व्यक्तिलाई पूरै नागरिक अधिकार हुनुपर्छ जसमा स्वेच्छिक मृत्यु पनि सामेल होस् ।यदि कुनै व्यक्ति आफ्नो ज्यान लिन चाहान्छ भने कुनै दोस्रो व्यक्तिले यसमा हस्तक्षेप गर्नु हुँदैन ।’


