Breaking News.... EverestOnlineKhabar
August 31, 2026

वाम एकता अप्ठ्यारो मोडमाःएमाले र माओवादी आन्तरिक छलफलमा……

Loading

काठमाडौ,बैशाख ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया दुई पार्टी अध्यक्ष मै पुगेर अड्किएको छ । यसअघि एकता घोषणा मितिसमेत तय गरेका दुई अध्यक्षबीच पछिल्ला दिन एकता प्रक्रिया अप्ठ्यारो मोडमा पुगेर अड्किएको छ । दुवै पार्टीद्वारा एकताको खाका तयार गर्न गठित कार्यदल हुँदै अध्यक्षद्वयसहित दुवै पार्टीका वरिष्ठ नेता सम्मिलित एकता संयोजन समितिमा सहमति हुन बाँकी विवादित विषयको टुंगो लगाउने जिम्मा दुई अध्यक्षमा पुगेर अड्किएको हो । विवादित विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक छलफल भए पनि त्यसले ठोस निष्कर्ष लिन सकेको छैन।
यसैबीच,पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेको बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । दुबै पार्टीको अलग–अलग बैठकमा एकता प्रक्रियामा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल हुने नेताहरुले बताएका छन् ।
एमालेले स्थायी कमिटी बैठक र माओवादी केन्द्रले सचिवालय बैठक बोलाएका छन् । माओवादी केन्द्रको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । यसैगरी एमालेको बैठक साँझ ६ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने तय भएको छ ।
बिहीबार दुवै पार्टीका अध्यक्षबीच छलफल गर्ने तयारी छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसअघि पटक–पटक भएका छलफलले निकास निकाल्न सकेको छैन । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एकताको विन्दु पहिल्याउन छलफल गर्न लागिएको जानकारी दिइन् । एमाले र माओवादीबीच वैशाख ९ गते एकता घोषणा गर्ने भनिएको थियो । तर शीर्ष नेताहरुको व्यवस्थापनमा कुरा नमिलेपछि त्यो मिति टरेको छ । अब एकता घोषणाको नयाँ मिति तोक्ने नेताहरुले बताइरहे पनि अझै टुंगो लागिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.