![]()
जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतबाट सिधै जनकपुर आउने कार्यक्रम तय भएको छ । गृहमन्त्री रामबहादुर थापाले बैशाख २८ गते मोदी सिधै जनकपुर अवतरण गर्ने पुष्टि गरे । भारतीय वायुसेनाको जहाजमा नयाँदिल्लीबाट पटना विमानस्थलमा अवतरण गर्ने मोदी र उनको टिम त्यहाँबाट तीनवटा हेलिकोप्टरमा जनकपुर अवतरण गर्नेछ। गृहमन्त्री थापाले जनकपुरमा मोदीलाई स्वागत र नागरिक अभिनन्दन गरिने बताए।
प्रधानमन्त्री मोदी यहाँ जानकी मन्दिरमा पूजापाठ गरेपछि त्यही दिन मुस्ताङ पुग्ने कार्यक्रम छ। मुक्तिनाथ मन्दिरमा पुजा गरेपछि मोदी अपरान्ह काठमाडौं जानेछन्।
गृहमन्त्री थापाले मंगलबार बिहान हेलिकोप्टरबाट जनकपुर आएर मोदीको स्वागतको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि जनकपुर पुगेका छन्। गृहमन्त्री थापासँगै गृहसचिव देवकुमार राई, गृह प्रवक्ता रामकुष्ण सुवेदी र तीनवटै सुरक्षा निकायका प्रमुखले सुरक्षा बन्दोबस्तबारे जानकारी लिएका छन्।प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गृहमन्त्री थापा र सुरक्षानिकायका उच्च अधिकारीलाई मोदीको स्वागत र सुरक्षाका लागि गरिएको तयारीबारे जानकारी दिए।
गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण धार्मिक मात्र रहेको बताए। मोदी जनकपुर आउँदा उनलाई नागरिक अभिनन्दन गरिने रंगभूमि मैदान र पूजापाठ गर्ने जानकी मन्दिरको गृहमन्त्री थापासहितको उच्च सुरक्षा टिमले निरीक्षण गरेको छ। गृहमन्त्री थापाले मोदीको जनकपुर भ्रमणको सबै तयारी र सुरक्षाको बन्दोबस्त प्रदेश सरकारले गर्ने र संघीय सरकारले समन्वय गर्ने जानकारी दिए।


