![]()
ललितपुर,बैशाख ।
नेकपा एमालेका उपाध्यक्ष एंव एमाले–माओवादी केन्द्र पार्टी एकताका सुत्रधार मानिने वामदेव गौतमले सांगठनिक संरचनामा दुई–दुई जना अध्यक्ष हुनै नसक्ने अडान लिएका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियामा ल्याउने शीर्ष भुमिका निर्वाह गरेका प्रभावशाली नेता वामदेव गौतमले एकिकृत कम्युनिष्ट पार्टीको केन्द्रमा दुई अध्यक्ष हुने, पदाधिकारी नहुने र जिल्ला तहमा १ अध्यक्ष र १ सचिव हुने बताएका छन् । नेकपा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चद्वारा संयुक्त रुपमा आयोजना गरिएको वनभोज कार्यक्रममा उपाध्यक्ष गौतमले एकिकृत पार्टीको संरचना बारे मुख खोलेका हुन् ।
उपाध्यक्ष गौतमले एमाले अहिलेको अवस्थामा आउन ४५ औं पटक र माओवादी केन्द्र १६ औँ पटक एकीकरण भैसकेको भन्दै यो भन्दा अगाडीका कुनै पनि एकता कहिल्यैं यति लामो नभएको टिप्पणी समेत गरे ।
उनले भनेः‘हामीले एकता समितिको तर्फबाट सबै कुरा टुंग्याएर पूर्ण अधिकार २ अध्यक्षलाई दिँदा समेत एकता प्रक्रिया लम्बिएकोमा मलाई आश्र्चय लागेको छ । केन्द्रले एकता गर्न ढिलो गर्ने हो भने स्थानीय स्तरबाट पार्टी एकता गर्दै नेतृत्वलाई दवाब दिनुपर्छ ।’
विश्वकै अग्लो चुचुरो सगरमाथाको देशबाट ठूला कम्युनिष्ट पार्टीहरुको एकताले हुने समाजवादी समृद्धीको प्रभावःभारत, बंगलादेश, पाकिस्तान, युरोप हुँदै अमेरिकासम्म फैलिने उनको दावी छ । कार्यक्रममा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले कुनै पनि बहानामा पार्टी एकताको लागि ढिलाई गर्न नहुने र तल्लो तहमा हुने आपसी मेलमिलापले सिंगो देशलाई एकतामा ल्याउने धारणा राखे । उनले भनेः‘
सिन्धुली मात्र होईन, अरु ७६ जिल्ला पनि एकै पटक एकतामा आउनुपर्छ ।’
सिन्धुली जिल्लाबाट निर्वाचितहरुको तर्फबाट धारणा राख्दै सिन्धुली क्षेत्र नं. २(क) का सांसद विनोद खड्काले पार्टी एकतामा भएको ढिलाईले जनतामा विश्वास घट्दै गएको टिप्पणी गरे । कार्यक्रममा पूर्व सभासद निरु दर्लामी, एमाले सम्पर्क मंचका पूर्वअध्यक्षहरु हरिकृष्ण ठकुरी, डेकेन्द्र सुवेदी, तारानिधि पोखरेल, ईश्वर आचार्य त्यस्तै बाम नेताहरु हिरा लामा, भानुहरि भण्डारी, सरिता ढुंगेल, कमल दाहाल, राम थापा, अशोक कुमार ठकुरी, अशोक गिरी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चका अध्यक्ष रुद्र थिङले एकता प्रक्रिया तत्काल नटुंग्याए स्थानीय स्तरबाट एकता घोषणा गर्न बाध्य हुने चेतावनी दिए । नेकपा एमाले सिन्धुली–काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष अमर थापामगरले सिन्धुलीबाट काठमाडौं आएर विभिन्न पेसा व्यवसाय गर्ने ४ सय ८३ भन्दा बढी जना बाम समर्थकहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।


