Breaking News.... EverestOnlineKhabar
August 31, 2026

महामन्त्रीको प्रतिवेदनमा सहमति जुटाएर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिने

Loading

काठमाडौ,बैशाख ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। शनिबार कांग्रेस महामन्त्रीले प्रस्तुत गर्ने भनिएको प्रतिवेदनमा सहमति जुट्न नसकेपछि शनिबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो। बैठक पुनः आज बिहान ९ बजेका लागि बोलाइएको छ।
चुनावी हारको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने, विधान संशोधनका विषय तथा आगामी रणनीति तय गर्न भन्दै बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन्। गत चैत ९ देखि जारी बैठकमा झन्डै ७० जनाले आफ्नो धारणा राखेका थिए। शुक्रबार नै पदाधिकारीले पनि जवाफ दिएर बैठक अन्त्य गर्ने बताइए पनि सहमतिका लागि शनिबारसम्म समय बढाइएको थियो। शनिबार बिहान ९ बजेका लागि तय गरिएको बैठक बस्न नसकेपछि शीर्ष नेताहरुले दिउँसो ३ बजेदेखि अनौपचारिक छलफल गरेर सहमतिको प्रयास गरेका थिए। तर, सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको थियो।
बैठकमा उठेका धारणाहरुलाई समेटेर महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा नेताहरुबीच सहमति जुट्न सकेको छैन।महानमन्त्रीको प्रतिवेदनले बैठकमा उठेका असन्तुष्टिलाई सम्बोधन नगर्ने संकेत पाएपछि कतिपय नेताले‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेका थिए। साथै, पौडेल पक्षका नेताहरुले चुनावी हारमा सभापतिलाई जिम्मेवार नठहर्‍याउने प्रतिवेदनप्रति तीव्र असन्तुष्टि जनाइरहेका छन्। उनीहरुले चुनावी हारमा सभापति देउवाले जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन्।
उता देउवा पक्ष भने चुनावी हारमा दुई कम्युनिस्ट पार्टीको गठबन्धनलाई दोष दिएर पन्छिन खोजेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी हारको यो बचाउप्रति सार्वजनिक असन्तुष्टि जनाउने गरेका छन्। असन्तुष्टि बढ्ने देखेपछि सभापतिसहितका मुख्य नेताहरुले सहमति गर्न चाहेका हुन्। सभापति देउवासहित पौडेल, महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले छलफल गरेका थिए। तर, सहमति जुटाउन भने सकेनन्।
बैठकमा देउवा पक्षइतरका नेताहरुले चुनावी हारमा सभापति देउवाको रणनीतिक कुशलता नदेखिएको, विधान विपरीत संसदीय बोर्ड र कार्यसम्पादन बनाएकाले महासमिति बैठक र अग्रीम महाधिवेशन बोलाउनुपर्ने लगायतका माग राखेका छन्। देउवा पक्षले महासमिति बैठक जतिसक्दो ढिलो बोलाउने रणनीति अपनाइरहेको पनि पौडेल पक्षका नेताहरुको आशंका छ।
आज बस्ने बैठकमा सहमति जुटाएर महामन्त्री डा. शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ। उक्त प्रस्तावमाथि छलफल भई पारित हुनसक्ने बताइएको छ। साथै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिर्इ गत चैत ९ गतेदेखि जारी बैठक समापन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.