![]()
लण्डन,बैशाख ।
बेलायती राजकुमार विलियम र उनकी पत्नी क्याथेरिन तेस्रो सन्तानको अभिभावक बनेका छन्। राजकुमारी क्याथेरिनले सोमबार स्थानीय समयानुसार बिहान ११ः०१ मा छोरालाई जन्म दिएकी हुन्। विलियम दम्पतिका यसअघि १ छोरा र १ छोरी छन्। उनी बेलायती राजपरिवारमा उत्तराधिकारीको सूचीमा पाचौँ नम्बरमा परेका छन्।
बच्चाको जन्म लन्डनस्थित सेन्ट मेरी हस्पिटलमा भएको थियो। जन्मको समयमा राजकुमार अस्पतालमा उपस्थित थिए। बेलायती राजपरिवारको कार्यालय किंग्सटन प्यालेसले एक विज्ञप्ति जारी गर्दै शिशुको तौल ३ किलो ८ सय ग्राम रहेको तथा क्याथेरिन र शिशु दुवैको अवस्था स्वस्थ रहेको जनाएको थियो।
किंग्सटन प्यालेसका अनुसार सो खबरको बारेमा महारानी लगायत राजपरिवारका सबै सदस्यहरुलाई जानकारी गराइएको छ। बेलायती राजपरिवारमा नयाँ शिशु जन्मिएको खबर सुन्न तथा खुशियाली मनाउन अस्पताल तथा किंग्सटन प्यालेस अगाडि ठूलो संख्यामा मानिसहरु उपस्थिती भएका थिए।
सेन्ट मेरी अस्पतालबाट स्थानीय समयअनुसार साँझ ६ बजे विलियम दम्पती नयाँ शिशुलाई लिएर किंग्सटन प्यालेसतर्फ लागेका थिए।


