![]()
काठमाडौं। काँग्रेस नेता डा शेखर कोइरालाले पार्टीको संगठन इतिहासमै कमजोर अवस्थामा पुगेको बताएका छन् । नेविसंघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा नेता कोइरालाले यति कमजोर संगठन हुँदा पनि पार्टी सभापति शेरबहादुर देउवाले आत्मसाथ गर्न नसक्नु लज्जास्पद भएको बताए ।
‘केन्द्रमा मात्रै होइन, प्रदेशमा उपस्थिति अझ् न्यून छ । अझै पनि लज्जास्पद हारलाई आत्मसात नगर्नु विडम्बना हो’, उनले भने ‘हामी हारेका छौं तर स्वीकार्न सकिएको छैन । समानुपातिक मत देखाएर हारेको होइन भनिन्छ ।’
कोइरालाले सभापति तथा तत्कालिन प्रधानमन्त्री देउवाले राजदूत नियुक्तिमा समेत पैसाको लेनदेन गरेको पुष्टि भएको दावी गरे । उनले केही व्यक्तिबाट पहिल्यै रकम लिइसकेपनि राजदूत बनाउन नसकेपछि फिर्ता समेत गरेको खुल्न आएको बताए ।
‘एक व्यक्तिको लहडले काँग्रेसको यस्तो गति भएको हो, सभापतिलाई आफु अनुकुलको विधान संशोधन गर्न दिइदैन’ नेता कोइरालाले सुनाए ।
नेपाल भारतबीच भएको उच्च बाँध सम्झौताबारे काँग्रेस नवोलेको भन्दै उनले प्रश्न समेत गरे । प्रधानमन्त्री केपी ओलीलाई धर्म गुरुले गरेको सम्मानका विषयमा पनि काँग्रेसले प्रतिक्रिया नजनाएकोप्रति केन्द्रीय सदस्य कोइरालाले नेतृत्वको आलोचना गरे ।उनले डा. युवराज खतिवडा योजना आयोगको उपाध्यक्ष भएदेखि नै आर्थिक अनुशासन भंग भएको भएको बताए ।


