![]()
बीबीसी ।क्यारेबियन देश क्युवामा लामो समयदेखि क्यास्ट्रो परिवारको शासन रहँदै आएको छ । तर अब क्यास्ट्रो परिवारको शासन क्युवामा नरहने पक्का भएको छ । क्युवाको संसदले मिगेल डियाज–कनेललाई देशको भावी नेताको रुपमा चयन गरेको छ । उनले अहिलेका राष्ट्रपति ८६ वर्षका राउल क्यास्ट्रोको ठाउँ लिनेछ ।
क्यास्ट्रो परिवार दशकौँदेखि क्युवाको सत्तामा रहँदै आएको छ । राउल क्यास्ट्रो सन् २००६ मा सत्तामा आएका थिए । उनका दाइ फिडेल क्यास्ट्रो बिमारी भएपछि सत्ताको बागडोर राउलले सम्हालेका थिए । तर अब सत्ताको डोरी राउलबाट उनका राइट ह्याण्ड मानिएका मिगेलमा जाने भएको छ ।
क्युवाको नेशनल एसेम्बलीले मिगेलको नाम देशको भावी नेताको रुपमा चुनेपछि उनी राष्ट्रपति बन्ने पक्का जस्तै रहेको छ । राउल क्यास्ट्रो राष्ट्रपति पदमा नरहे पनि क्युवाको राजनीतिमा उनीको प्रभाव भने कम हुने छैन । उनी सन् २०२१ सम्म कम्युनिष्ट पार्टी अध्यक्ष रहने छन् ।
राउल क्यास्ट्रोको कार्यकालमा अमेरिकामा राष्ट्रपति बाराक ओबामा रहेका बेला सम्बन्ध सुधार भएको थियो । तर डोनाल्ड ट्रम्प सत्तामा आएपछि फेरि सम्बन्ध पुरानै अवस्थामा फर्किए जस्तो छ ।
क्युवाको बागडोर सम्हाल्न आउने नयाँ नेता मिगेलका सामु छिमेकी तथा विश्वका शक्ति राष्ट्रसँगको सम्बन्ध बिस्तारसँगै सुस्त हुँदै गरेको देशको अर्थतन्त्रलाई गतिको बाटोमा ल्याउने जिम्मेवारी छ । यस्तै परिवर्तन चाहने युवाको माग पनि सम्बोधन गर्नु पर्ने चुनौती छ ।


