Breaking News.... EverestOnlineKhabar
June 27, 2026

प्रहरी संगठनमा फेरी पनि असन्तुष्टि,रमेश खरेलले भनेः‘आजै राजीनामा दिन्छु’

Loading

काठमाडौ,चैत ।
सरकारले नेपाल प्रहरी प्रमुखमा डीआईजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेपछि अर्का डीआईजी रमेश खरेलले असन्तुष्टि व्यक्त गरेका छन् । असन्तुष्ट डीआईजी खरेलले राजीनामा दिने घोषणा समेत गरेका छन् । प्रहरी प्रमुखका लागि खनालसँगै खरेल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेपछि खरेलले असन्तुष्टि जनाएका हुन् ।
तर उनले खनालप्रति कुनै आग्रह–पूर्वाग्रह नभएको बताएका स्पष्ट पारेका छन् । फेसबुक मार्फत खरेलले भनेः‘प्रहरीमा भागबन्डाको पद्धति अन्त्य हुनुपर्छ भन्ने मेरो धारणा हो,प्रहरीमा म जागिर खानकै लागि मात्र बसेको होइन, केही ड्रिम प्रोजेक्ट थिए । त्यो पूरा गर्ने मेरो इच्छा थियो तर त्यो जिम्मेवारीमा नरहेपछि अब राजीनामा दिने निर्णयमा पुगेको छु । मैले आजै राजीनामा दिन्छु ।’ उनले राजीनामापछिको कुनै योजना नबनाएको पनि धारणा राखे ।
प्रहरीका दुई संगठनमा नयाँ नेतृत्वका रूपमा नेपाल प्रहरीमा सर्वेन्द्र खनाल महानिरीक्षक बनेका छन् भने सशस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई महानिरीक्षक बनाइएको छ । सर्वेन्द्र आउँदो २२ महिना नेपाल प्रहरीको प्रमुख हुनेछन् भने शैलेन्द्र चार वर्षका लागि सशस्त्र प्रहरीको प्रमुख रहनेछन् ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सुरुदेखि नै एक सशक्त, जिम्मेवार र आँटेको काम पूरा गरिछाड्ने प्रहरी अधिकृतका रूपमा परिचित थिए । एसएसपीमा बढुवा हुँदा रमेश खरेलभन्दा तल परेका भए पनि डीआईजीमा बढुवा हुँदा उनी पहिलो नंबरमा परेका थिए भने रमेश खरेल दुई नंबरमा रहेका थिए ।
सर्वेन्द्रले अपराध अनुसन्धानमा देखाएको विशेष कार्यकुशलताले उनको चर्चा मिडियामा पनि व्याप्त थियो । खरेल चर्चाको शिखरमा भए पनि अन्तिम समयमा आएर खनाल मिडियाको प्रिय हुन पुगेका थिए । नेपाली फुटबलमा भएको म्याच फिक्सिङको प्रकरण सार्वजनिक गरेर खेलाडीमाथि कारवाही गरेपछि उनको चर्चा चुलिएको थियो । विभिन्न अपराधीको‘इनकाउन्टर’ मा पनि महानिरीक्षक खनालको नाम जोडिएको छ । उनले आफूले जिम्मा पाएको विभिन्न स्थानमा अपराध नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
शैलेन्द्र खनाल नेपाल प्रहरीमा इन्स्पेक्टरका रूपमा २०४९ सालमा प्रवेश गरेका थिए । माओवादी आन्दोलनको उत्कर्षमा गठन भएको सशस्त्र प्रहरी बलमा नेपाल प्रहरीबाट आफूखुसी प्रवेश गरेर उनले चुनौतीको सामना गर्ने अधिकृतको रूपमा आफूलाई स्थापित गरे । सशस्त्र प्रहरी बलको स्थापना देखि नै यसलाई सांगठनिकरूपमा सशक्त र सबल बनाउन विभिन्न नीतिगत र कार्यगत निर्णय गराउन खनालको भूमिका अब्बल रह्यो ।
काठमाडौंको सिद्धार्थ बनस्थली विद्यालयबाट २०३९ सालमा एसएलसी तथा त्रिचन्द्र क्याम्पसबाट बिएस्सी गरेका खनालले जनप्रशासन विषयमा स्नातकोत्तर गरेका छन् । सशस्त्र प्रहरी बलबाटै छानिएर संयुक्त राष्ट्र संघको शान्ति सेनाको मिसनमा वरिष्ठ प्रहरी अधिकृतका रूपमा केही वर्ष अनुभव प्राप्त गरेका खनाल कुनै पनि व्यवधानलाई सहज ढंगले सुल्झाउन कुशल मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.