Breaking News.... EverestOnlineKhabar
August 29, 2026

बिस्केट जात्रा शुरु, एक घन्टामै बिग्रियो भैरवनाथको रथ….

Loading

भक्तपुर,चैत ।
आठ रात नौ दिनसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु भएको छ । प्यागोडा शैलीको भैरवनाथको तीनतले रथ सोमबार तानेर बिस्केट जात्रा सुरु भएको हो । तर यसपटक उक्त प्यागोडा शैलीको भैरवनाथको तीनतले रथ एक घन्टामै बिग्रिएको छ । अगाडि छ र पछाडि चार वटा मोटो डोरीले एकैबाजी तान्दा मच्चिएर रथ बिग्रिएको छ । गुठी संस्थान भक्तपुरले भने गत वर्षको तुलना यस वर्ष रथ बलियो बनाएको बताएको थियो । तर, मोटो डोरीले सयौं भक्तजनले अगाडि पछाडि तान्दा मच्चिएर रथ जीर्ण बन्न पुगेको हो।
रथको छानाले ठाउँ छाडेका छन् । छाना अड्याउन राखिएका टुँडाल झरेका छन्। रथको पहिलो तलाको चारैतिर लगाइएका काठे चुकुल खुस्किएर उछिट्टिएका छन् । जीर्ण रथ मर्मत नगरी तानिएको थियो तर गुठी संस्थान भक्तपुरले रथ बिग्रे मर्मत गर्न तत्काल खटिने गरी सिकर्मीहरू तयारी अवस्थामा राखेको दाबी गरेको थियो। सिकर्मीहरू भने बिनामर्मत रथ तानिँदा बिग्रने बताउँछन्।
बिस्केट जात्रा व्यवस्थापन गर्न प्रहरी प्रशासनले उक्त प्रचलन पालना गराउन स्थानीय स्वयंसेवक परिचालन गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जात्रा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय ७ सयभन्दा बढी युवालाई स्वयंसेवकका रूपमा परिचालन गरेको छ । उनीहरूले भैरव नाइके, गुठीयार र खान्कीबाहेक अन्यलाई रथमा चढ्नबाट रोक्न सकेनन् । उनीहरू परिचयपत्र लुकाएर रमिते बनेका थिए ।
यता भैरवनाथको रथले तार तानिएर विद्युत आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण भक्तपुर केन्द्रले प्राविधिकहरू तयारी अवस्थामा खटिएका छन् । केन्द्रका प्रमुख विक्रम अमात्यले बिजुला काटिँदा झैझगडा हुन सक्ने भएकाले बिस्केट जात्रा शान्तिपूर्ण र हर्षोल्लासपूर्वक सम्पन्न गर्न प्राविधिकहरू तयारी अवस्थामा राखिएको जानकारी दिए ।
सोमबार तानिएको भैरवनाथको रथ भक्तपुर नगरपालिका–५ टौमढीबाट करिब सय मिटर दक्षिण गःहिटी पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न भएको मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.