![]()
कैलाली । साविक विजेता टिम चौराह धनगढी डीपीएलको प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ। शनिवार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै सोमपाल कामीको कप्तानीमा रहेको चौराहले प्लेअफमा स्थान बनाएको हो।
रुपन्देही भने लिगका सबै ५ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ।
वर्षाले मैदान भिजेको कारण ८ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको टिम चौराहले सोनु तामाङको विष्फोटक ब्याटिङ मद्दतमा ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको थियो। जवाफमा सागरले पुनले आक्रमक ब्याटिङ गरेपनि रुपन्देहीले ७३ रन मात्र बनाउन सक्यो।
११ रन हुँदा ३ विकेट गुमाएको चौराहका लागि रोहन मुस्ताफा र सोनु तामाङले चौथो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। आक्रमक ब्याटिङ गरेका तामाङले १४ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा ३४ रन बनाए। मुस्ताफाले १३ बलमा १ छक्काको मद्दतमा १५ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन।
बलिङमा रुपन्देहीका सुसन भारीले ३, दीपेश श्रेष्ठले २ तथा सागर पुन र कप्तान शक्ति गौचनले १–१ विकेट लिए।
७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीका लागि सागर पुनले ३३ रन बनाएपनि जिताउन सकेनन्। १६ बल खेलेका सागरले समान ३ चौका र ३ छक्का प्रहार गरे।


