![]()
बीबीसी । स्पेनको क्याटलोनियाका अपदस्त नेता काल्स पुज्डमोनले आफू जर्मनीबाट मुक्त भएपछि मात्रै राजनीतिक वार्ता गर्ने बताएका छन्। स्पेनमा देशद्रोह र भ्रष्टाचार गरेको आरोप लागेका पुज्डमोनलाई जर्मनीका न्यायाधीशहरूले स्पेनलाई सुपुर्दगी गर्न अस्वीकार गरेपछि उनले यस्तो शर्त राखेका हुन्।
“वार्ता गर्ने समय अब आएको छ,” पुज्डमोनले नेउमुनस्टार जेल अगाडी संवाददाताहरूसँग भने। तर आफू स्वतन्त्र हुनु पर्ने र ७५ हजार युरो तिर्नु पर्ने निर्णय खारेज हुनु पर्ने उनको भनाई छ ।
“हामीले बर्षौदेखि वार्ताका लागि आग्रह गरिरहेकै थियौं, तर हामीविरुद्ध हिंसा र देशद्रोहको आरोप लगाइयो,” उनले भने।“क्याटलोनियाका राजनीतिक नेताविना स्पेनी अधिकारीहरूलाई वार्ता सुरु गर्ने विकल्प छैन,” पुज्डमोनले थपे।
५५ बर्षीय पुज्डमोनले क्याटलोनियाका आफुसँगै पक्राउ गरिएका सबै नेताहरूलाई तत्काल रिहा गर्न पनि माग गरे ।
गत बर्षको अक्टोबरमा स्पेनबाट क्याटलोनियालाई अलग हुने पक्षमा गराएको जनमतसंग्रह विवादमा परेपछि उनी बेल्जियममा गएका थिए। जनमतसंग्रहपछि स्पेनको केन्द्रीय सरकारले क्याटलोनिया क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो । त्यसपछि गराएको नयाँ निर्वाचनमा पनि क्याटलोनियाका स्वतन्त्रता पक्षधर दलहरूले नै झिनो अन्तरले जितेका थिए।


