![]()
एजेन्सी । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी ओलीले राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा माल्यार्पण गर्नुभएको छ । बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ लिएपछि प्रधानमन्त्री ओली गान्धी समाधिस्थलमा श्रद्धाञ्जलीका लागि पुग्नु भएको थियो । राजघाटमा प्रधानमन्त्रीसंग उहाँको टोलीपनि सहभागि थियो ।
त्यसअघि राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको थियो । भारतीय प्रधानमन्त्री मोदीले उहाँलाई स्वागत गर्नुभएको थियो ।
विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले समयको आवश्यकता र दुवै देशका जनताको चाहना वमोजिम नेपाल भारत सम्वन्ध अघि बढ्ने बताउनु भयो ।
यस्तै, प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्दसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन परिसरमा गार्ड अफ अनर ग्रहण गरेपछि राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।

