![]()
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरी एक अर्काको चासोप्रति संवेदनशिल रहेको बताएका छन । दुवै प्रधानमन्त्रीबीचको भेटपछि आयोजित पत्रकार सम्मेलनमा दुवै देशको साझा हीतमा काम गर्ने दुवै प्रधानमन्त्रीले दृढता व्यक्त गरेका छन ।
सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि नेपाल आर्थिक समद्धिको दिशार्फ अघि बढेको बताए । आफू नेतृत्वको सरकारको साझा उद्देश्य नै समृद्धि भएको बताउँदै ओलीले नेपाल लगानीको लागि उपयुक्त वातारण भएको पनि बताए । भारतीय नीजि तथा पब्लिक कम्पनीलाई नेपालका जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गर्दै ओलीले कतिपय आयोजना भारतीय लगानीमा बन्दै गरेको पनि सो क्रममा बताए ।
यस्तै सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध न्यूनीकरणका सवालमा नेपाल गम्भीर रहेको बताउँदै ओलीले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनका क्रममा ओलीले नेपाल भूपरिवेष्ठित देश नभएको बताउँदै बरु ‘ल्याण्डलिंक्ड’ देश भएको बताए। अहिलेको अवस्थामा नेपाल जलमार्गमा पनि जोडिन सक्ने उनले बताए ।
अर्को प्रसंगमा ओलीले काठमाडौं–रक्सौल रेलमार्ग विस्तारमा भारतले सहयोग गर्ने बताएकोमा खुशी व्यक्त गरे । ओली अघि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका मोदीले काठमाडौं रक्सौल रेलमार्ग भारतले बनाउने बताएका थिए ।
ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपयुक्त समयमा नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत दिए । ओली अघि सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासमा भारतले पूर्ण साथ दिने बताएका थिए । उनले प्रधानमन्त्री ओलीसहितको टिमलाई भारतमा स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका थिए ।

