![]()
काठमाडौ,चैत ।
पछिल्ला केहि दिन यता एमाले र माओवादी केन्द्र एकता प्रक्रियामा अवरोध सृजना भएको छ । एमाले र माओवादी नेताहरुले एकता बारे विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् । यसै सिलसिलामा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । एमाले–माओवादीबीच एकताको संख्या अनुपात, जनयुद्ध शब्द र चुनाव चिह्नमा समान धारणा निर्माणमा विवदा देखिएको छ ।
यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुंगो लगाउन संयोजन समितिको बैठक बस्न लागेको माओवादी केन्द्रका एक जना नेताले जानकारी दिएका छन् ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।
एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ । पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गत फागुन ७ मा सहमति गरेका थिए ।


