![]()
कैलाली । महेन्द्रनगर युनाइटेडले धनगढीमा जारी डीपीएल–२ क्रिकेटमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर किङसलाई ३३ रनले पराजित गर्दै महेन्द्रनगरले विजयी सुरुवात गरेको हो ।
विनोद भण्डारीको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडले दिएको १६९ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा अलआउट हुँदै १३५ रनमा समेटियो । विराटनगरका पृथु बास्कोटाले ३५ तथा हङकङका बाबर हायतले ३२ रन जोडे पनि जित निकाल्न सकेनन् ।
त्यस्तै विराटनगरका अनिल साहले २३, कप्तान पारस खड्काले १६ रन जोड्दा दिलिप नाथले १० रन जोडे । विराटनगरलाई हराउने क्रममा महेन्द्रनगरका अविनाश कर्णले ३ विकेट लिए । यस्तै पुनित मेहेरा,रोबिन क्षेत्री र भुवन कार्कीले समान २ – २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । महेन्द्रनगरको लागि भारतीय खेलाडी पुनित मेहराले अविजित ३८ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले ३५, पुनित बिष्टले २४ तथा आरिफ शेखले २० रन जोडे ।
महेन्द्रनगरका हरीशंकर शाहले १९ रन जोड्दा रोहित कुमार पौडेलले अविजित ९ रन जोडे । विराटनगरका मन्जित श्रेष्ठले २ तथा कप्तान पारस खड्का र सुभम कामतले समान एक एक विकेट लिए ।


