![]()
काठमाडौं । राष्ट्रिय जनमोर्चाले कुटनीतिक आचारसंहिता विपरित गतिविधि गरेकोमा इयूका अधिकारीलाई देश निकाला गर्न माग गरेको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिज्ञप्ती जारी गर्दै युरोपियन यूनियन (ईयु) को गत प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदन र राजदूतहरुको भेटघाटवारे आपत्ती जनाउँदै देश निकाला गर्न माग गरेको हो ।
बिज्ञप्तीमा भनिएको छ–‘हाम्रो समाज र राष्ट्रमा विग्रह र विखण्डन ल्याउने कार्य प्रति हामी गम्भीर बन्नुपर्छ । आवश्यक परे उनीहरुलाई देशबाट निस्कासन पनि गर्नुपर्दछ । विश्वका कतिपय देशले आफ्नो देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितलाई ध्यानमा राखि त्यसो गरेका उदाहरण हाम्रा अगाडि छन् ।’
इयूले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदनमा ‘खस आर्यलाई आरक्षण सूचीबाट हटाउन’ सुझाव दिएको थियो । लगत्तै सरकारले त्यसलाई सच्चाउन भनेपनि इयू नसच्चाउने बताएको छ ।


