![]()
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन÷चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो । संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा उल्लेख गरेकाले अब सर्वसाधारण जनतासमक्ष गुणस्तरीय सूचना सुलभ र सहज रुपमा पुर्याउन सरोकारवाला सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
हालसम्म अस्थिर सरकार हुँदा नीतिमा फेरबदल हुने, कर्मचारीको छिटो छिटो सरुवा हुनेलगायतका समस्या रहेको बताउँदै उहाँले अब त्यस्ता समस्याको अन्त्य भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिकम, नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण, न्यूनतम पारिश्रमिक निर्धारण समिति, चलचित्र विकास बोर्ड, हुलाक सेवा विभागलगायत प्रमुखहरुलाई आ–आफ्ना सेवा सुविधामा तत्काल सुधार गर्न उहाँले निर्देशन दिनुभयो ।


