![]()
नुवाकोट,चैत ।
चुनाव सकिएको करिब ४ महिनापछि कांग्रेसले हारको समीक्षा गर्न लागेको छ । निर्वाचनमा भोग्नुपरेको पराजयको कारणहरु सच्याएर पार्टीलाई आगामी दिनमा मजबुत बनाउने राणनीति तयार गर्न कांग्रेसले चुनावी समीक्षा सुरु गरेको जनाएको छ । पार्टीभित्र निर्वाचन परिणाम आएलगत्तै केन्द्रीय कार्यसमिति बैठक बसेर चुनावी समीक्षा गर्नुपर्ने माग उठे पनि शुक्रबारबाट मात्रै कांग्रेसले आधिकारिक रुपमा चुनावी समीक्षा सुरु गर्न लागेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा चुनावी समीक्षा सुरु हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले केन्द्रीय कार्यसमिति बैठकमा घनीभूत रुपमा चुनावी समीक्षा गरेर पार्टीलाई मजबुत बनाउने रणनीति तयार गर्ने पनि जानकारी दिए ।
कांग्रेसले जिल्ला कार्यसमितिहरुलाई जिल्लास्तरको चुनावी समीक्षा र सुझाव माग गरेको थियो । शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअगावै जिल्लास्तरीय चुनावी समिक्षा र सुझावसहितको प्रतिवेदन केन्द्रमा बुझाउन जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरिएको छ । कांग्रेसका मुख्य सचिव पौडेलका अनुसार अहिलेसम्म ३० जिल्लाले मात्रै केन्द्रलाई प्रतिवेदन बुझाएका छन् । केन्द्रीय कार्यसमितिसमक्ष प्रतिवेदन बुझाएका जिल्लाहरुले पार्टीभित्रको अन्तर्घात र कम्युनिष्ट गठबन्धनका कारण नै निर्वाचनमा कांग्रेसले हार बेहोर्नुपरेको उल्लेख गरेका छन् ।‘दुई कम्युनिष्ट पार्टीको गठबन्धन र पार्टीभित्रको अन्तरघात नै कांग्रेस हारको मुख्य कारण हो’ केन्द्रीय कार्यसमितिसमक्ष लिखित प्रतिवेदन बुझाइसकेका जिल्लामध्येको एक रोल्पाका जिल्ला सभापति अमरसिंह पुनले भने ।
प्रतिवेदन बुझाइसकेका जिल्ला कार्यसमितिहरुले समयमै उमेदवार चयन नगर्नु, जनताले विश्वास गर्ने ढंगको घोषणापत्र नहुनु, पार्टीले गरेका जनहितका कामहरुका बारेमा जनतालाई बुझाउन नसक्नु, नाकावन्दीका बारेमा मौन रहनुलाई पनि चुनावको पराजयका कारणहरु बताएका छन् । सभापति पुनले थपेः‘हामीले पार्टीले गरेका राम्रा कामहरुका बारेमा जनतालाई राम्रोसँग बुझाउन नसक्नु र नाकाबन्दीमा पार्टी मौन रहनु पनि हारको कारण देखियो ।’ यस्तै कांग्रेसका जिल्ला कार्यसमितिहरुले फितलो आन्तरिक व्यवस्थापन, पार्टीका क्रियाशिल सदस्यहरुको निष्कृयता, नेता–कार्यकर्ताहरुबीच भावनात्मक एकताको कमी, प्रभावकारी राजनीतिक मुद्दाको अभाव, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र आईजीपी प्रकरणलाई चिर्न नसक्नुलाई पनि हारको कारण मानेका छन् ।
मोरङ कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बूले भनेः‘हाम्रा राजनीतिक मुद्दाहरु पनि प्रभावकारी भएनन् । फेरि कम्युनिष्ट गठबन्धनको असर त छँदै थियो, त्यसमा पनि कार्यकर्ताहरुका बीचमा भावनात्मक एकताको कमीले गर्दा चुनाव हार्नुपरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएका छौं । कांग्रेससँग गठबन्धन गरेका दलहरुको असहयोग र मधेशवादी दलका नेतालाई सघाउन उमेदवारी नै नदिनु पनि कांग्रेसको पराजयका कारण भएको जिल्लाबाट पठाइएका प्रतिवेदनहरुमा उल्लेख गरिएको छ । कांग्रेसले राष्ट्रिय जनता पार्टीका महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवलाई निर्वाचनमा सघाउन उमेदवारी नै नदिएर पनि गल्ती गरेको कतिपय जिल्ला सभापतिको प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रमा प्रतिवेदन बुझाएका जिल्ला कार्यसमितिहरुले आगामी ५ वर्षभित्रमा पार्टीलाई मजबुत बनाउन विभिन्न सुझावसमेत दिएका छन् । उनीहरुले पार्टीको क्रियाशील सदस्यता वितरण प्रणालीमा सुधार ल्याउनुपर्ने सुझावलाई प्रमुखताका साथ उठाएका छन् । कांग्रेस कञ्चनपुरले त पार्टीलाई सुदृढिकरण गर्नका लागि अहिलेसम्मका सम्पूर्ण क्रियाशील सदस्यता खारेज गरेर नयाँ शिराबाट वितरण गर्नुपर्ने सुझाव प्रतिवेदनमार्फत् दिएको छ । कञ्चनपुरले कांग्रेसले नै कांग्रेस हराउन भूमिका खेलेको निष्कर्ष निकालेको छ । पार्टीका क्रियाशील सदस्यता लिएका कार्यकर्ता र नेताहरु सत्रृmय नभएकै कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार बेहोर्नुपरेको परेको कांग्रेस कञ्चनपुरको निष्कर्ष रहेको जिल्ला सभापति हरिप्रसाद बोहराले बताए ।
पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लाले चुनावमा अन्तर्घात गर्ने नेता–कार्यकर्ताहरुलाई कारवाही गरेमात्रै पार्टी बलियो हुने सुझाव दिएको छ । डडेल्धुरा कांग्रेसले पार्टीका भ्रातृ संगठनको जिम्मेवार पदमा बसेका पदाधिकारीहरुलाई निश्चित समयावधि तोकेर संगठन विस्तार तथा सुदृढिकरणको जिम्मेवारी दिने र जिम्मेवारी पूरा नगर्नेलाई पदमुक्त गरेर नयाँ व्यक्तिलाई ल्याउनुपर्नेसमेत केन्द्रीय कार्यसमितिलाई सुझाव दिएको छ ।
जुम्ला कांग्रेसले नेतृत्व परिवर्तनले मात्रै पार्टी बलियो नहुने निष्कर्षसहित कांग्रेसलाई आगामी ५ वर्षभित्रमा पहिलो पार्टीको हैसियतमा पुर्याउन नीति परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ ।


