![]()
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका गतिविधि एकपछि अर्को गर्दै विवादस्पद बनिरहेका छन । कैलाली टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीमाथि अदालतको आदेशमा अनुसन्धान भैरहेकाबेला उनले बीर अस्पताल पुगी जुस खुवाएका थिए । उनको यो कामको अहिले सर्वत्र आलोचना भैरहेको छ ।
प्रहरीको सम्पूर्ण अनुसन्धानमा चौधरी दोषी देखिएको भन्दै प्रहरीले मुद्दा चलाइरहेकाबेला गृहमन्त्री थापाले चौधरीलाई जुस खुवाएर प्रहरी संगठनमाथि नै धावा बोलेको आरोप छ । राजनीतिक लाभ र पूर्वाग्रहका आधारमा गृहमन्त्रीले दण्डहीनतालाई प्रश्रय दिइ अपराधलाई संरक्षण दिन खोजेको आरोप उनीमाथि लागेकाबेला उनी काण्डमा तानिएका छन ।
गृहमन्त्री थापा मंगलबार बिहान सुन्धारास्थित केन्द्रीय कारागार र डिल्लीबजार सदर खोरको अवलोकन गर्न पुगे । साधारणतय कारागारको अवस्थाबारे अवलोकन गरे त केही हुने थिएन तर उनले त्यहाँ पुगेर पनि विवादास्पद अभिव्यक्ति दिए । उनले भने–‘बामगठवन्धन सरकारले निर्दोष कैदी छुटाउँछ । ’
गृहमन्त्री थापाको अभिव्यक्तिलाई आधार बनाउने हो भने कारागारमा थुप्रै निर्दोष मान्छेहरुलाई थुनिएको छ । मानिसहरुले आशंका गरेका छन कतै उनले रेशम चौधरी र बालकृष्ण ढुंगेललाई छुटाउन खोजेका त होइनन ?
बिधि र कानुनको पालना गराउनुपर्ने मुख्य पदमा बसेर गृहमन्त्री थापाले चालेका कदम एकपछि अर्को गर्दै शंकास्पद हुन थालेका छन । स्वयं प्रहरी संगठनका उच्च अधिकारीले पनि थापाको नियतमा शंका गर्न थालिसकेका छन । रक्षा मन्त्री हुँदा तत्कालिन प्रधानसेनापति रुक्मांगत कट्वाललाई ‘कु’ गर्न खोजेका थापामा अझैपनि ‘युद्ध’ कै ह्याङ रहेको बताउने गरिएको छ ।
अहिले निर्दोष कैदी छुटाउँछु भन्दै हिंडनुले उनले आफनो पार्टीका मुद्दा लागेका सबैलाई उन्मुक्ति दिन गृहकार्य थालेको प्रतित हुन्छ ।


