![]()
काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब साँच्चैको नाकाबन्दी हुने चेतावनी दिएका छन । शान्ति, स्थिरता र विकासका विषयमा आयोजित वृहत नागरिक परामर्श कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने,‘ पहिले हामीहरूको भावनाविपरीत संविधान जारी भएपछि सीमामा धर्ना दिन बाध्य भएका थियौँ । तर अबचाहिँ साँच्चैको नाकाबन्दी हुने अवस्था आउँदै छ ।’
उनले भने, ‘अब प्रदेश र केन्द्रका बीचमा द्वन्द्व हुन्छ, अधिकारका लागि संघर्ष हुन्छ, मुखिया र खरिदारले समेत नटेर्ने प्रदेश सरकारको कुनै अर्थ रहन्न ।’
अध्यक्ष यादवले तत्कालिक राष्ट्रपति डा. रामवरण यादवप्रति कटाक्ष गर्दै भने, ‘उहाँले पनि नपढिकन तीनपटक ढोगेर सही गरी संविधान जारी गरिदिनुभएको रहेछ । चारसयवटा संशोधन प्रस्तावमा छलफलसम्म नभई संविधान जारी गरिएको हो । ह्वीप जारी गरी सबैलाई हुन्छ भन्न लगाएर यो संविधान ल्याइएको हो ।’
नेता यादवले नेपालको संविधानले विविधतालाई सम्बोधन गर्न नसकेको चर्चा गर्दै भने, ‘प्रधानमन्त्रीले नै संघीय अवधारणअनुरुपको व्यवहार गर्नुभएको छैन । कैलाली घटनाका रेशम चौधरीलाई प्रदेश सरकारले आवश्यक कारवाही प्रक्रिया अघि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीले सिधै केन्द्रबाट आदेश दिनु, राधा चौधरीमाथि भएको कुटपिट प्रकरणमा दोषीहरूलाई कारवाही गर्न निर्देशन दिनु संघीयताको अवधारणाविपरीत छ ।’
कार्यक्रममा संविधानविद डा. भीमार्जुन आचार्यले जुन दिन न्यायाधीशले प्रधानन्यायाधीशलाई बर्खास्त गरेको घोषणा भयो र त्यतिले नपुगी न्यायपरिषदका सचिवलाई पत्र लेख्न लगाई प्रधानन्यायाधीशको बर्खास्तगी भयो भनी प्रचार गराइयो, त्यही दिन नेपालमा ‘रुल अफ ल’ मर्यो । न्याय मरेको मुलुकमा शान्ति, स्थिरता र विकास कठिन छ ।


