![]()
कैलाली,फागुन ।
कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले सोमबार राति नै सुखड क्षेत्रबाट नेकपा माओवादी विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुको नाम खुलाउन नमिल्ने घिमिरेले बताए ।
घोडाघोडीको‘बोक्सी काण्ड’ मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले‘जनकारवाही’ गर्ने धम्की दिएका थिए । सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् । उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । घटनालगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको हो । चौधरीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।
नगर प्रमुख चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले आफूलाई गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घिमिरेले बताएका छन् ।
३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर चौधरीलाई आक्रमण गरेको बुझिएको उनले बताए । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल कसको हो भन्ने खुलिनसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
चौधरीका छिमेकी बिशाल पाण्डेयले घटनालगत्तै स्कुटीमा राखेर मेयर चौधरीलाई अस्पताल पुर्याइएका थिए । घरभित्र बसेका बेला बाहिर बन्दुक पड्किएको आवाज सुनेपछि बाहिर आउँदा आक्रमण भएको आफूले थाहा पाएको उनले बताए ।


