![]()
काठमाडौ,फागुन ।
आइसिसी एकदिवशीय विश्वकप छनौट क्रिकेट अन्र्तगत आज नेपालले हङकङको सामना गर्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोटमा लगातार तीन खेलमा भएपछि एकदिवसीय मान्यता पाउने र सुपर ६ मा पुग्ने नेपालको लक्ष्य संकटमा परेको छ। यद्यपी अन्तिम खेलमा जित हात पारे नेपालले आफ्नो लक्ष्य पूरा गर्ने झिनो आसा भने बाँकी नै छ। समूह ‘बी’ को अंक तालिकाको पुछारमा रहेको नेपालले आज दिउँसो सवा १ बजे जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा हङकङको सामना गर्नेछ। खेलमा नेपालले जित हात पारे एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ।
पराजित भए पनि नेपालको एकदिवसीय मान्यता पाउन समूह ‘ए’ को नजितामा भर पर्नेछ। समूह ‘ए’ नेदरल्यान्ड्स सुपर ६ पुगे तथा यूएई बाहिरिए नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ। तर यो समीकरण पूरा हुन पनि कठिन छ। किनकी युएई २ खेलमा जित निकाल्दै सुपर ६ नजिक छ।
सुपर ६ मा पुग्न भने नेपालले हङकङलाई पराजित गरेर मात्र पुग्दैन फराकिलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ। त्यसका लागि नेपालले हङकङलाई २ सय १८ रन भन्दा बढीले पराजित गर्नु पर्छ। यस्तो नजिताले नेपालले रनरेटमा अफगानिस्तान र हङकङलाई पछि पार्नेछ।
प्रतियोगितामा अफगानिस्तानलाई पराजित गरेको हङकङ बलियो टिम हो। हङकङले जिम्बावे विरुद्ध पनि राम्रो ब्याटिङ गरेको थियो। प्रतियोगितामा ब्याटिङमा सुधार गरे मात्र नेपालले जित निकाल्न सक्नेछ। कप्तान पारस बाहेक अन्य खेलाडीले प्रतियोगितामा सम्झनलायक ब्याटिङ गर्न सकेका छैनन्। पारसले स्कटल्यान्ड र अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए।
नेपाल र हङकङबीच प्रतियोगिताअघि वार्म अप खेल हुने तय भएपनि वर्षाका कारणले रद्द भएको थियो। त्यसअघि आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेलमा पनि वर्षा वाधक बनेको थियो। पहिलो खेलमा भने नेपाललाई हङकङले पराजित गरेको थियो। गत अक्टोबरमा हङकङमा भएको खेलमा नेपाल ८३ रनले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको हङकङ १ सय ९४ रनमा अलआउट भयो। तर नेपालले १ सय ११ रन मात्र जोड्न सक्यो। खेलमा नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन जोडेका थिए।
सन् २०१४ मा भएको विश्वकप छनोटमा नेपाललाई हङकङले १० विकेटको फराकिलो अन्तरले हराएको थियो। पहिले ब्याटिङ गरेको नेपालले १ सय ५० रनमा अलआउट भएको थिय। १ सय ५१ रनको लक्ष्य हङकङले बिनाविकेटको क्षतिमा पार गरेको थियो।


