![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो ३ बजे संसदमा विश्वासको मत लिने भएका छन्।
आइतबार संसदको दुई बैठक बस्नेछ । पहिलो बैठकमा प्रधानमन्त्रीलाई शुभकामना दिने कार्यक्रम राखिने छ। दोश्रो बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश हुनेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। ओलीलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ।
प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा बोल्दै प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम आईतबार अपरान्ह बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था गरिएको पनि स्मरण गराए।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
सरकारमा सहभागि हुने घोषणा गरिसकेको संघीय समाजवादी फोरम नेपालले पनि समर्थन गर्ने घोषणा गरिसकेको छ। राजपाले पनि ओलीलाई समर्थन गर्ने छ । ओलीको पक्षमा आइतबार मत विभागज हुँदा दुई तिहाई पुग्ने अवस्था रहेको छ।
२ सय ७५ सदस्यीय संघीय संसदमा नेकपा एमालेको १ सय ५१, नेकपा माओवादी केन्द्रको ५३ र संघीय फोरमको १३ सांसद रहेका छन्।


