![]()
काठमाडौं । राष्ट्रपतिको उम्मेदवार बन्न नसकेपछि एमाले वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिमा पूर्ण सक्रिय हुने बताउनु भएको छ । रेडियो कान्तिपुरको कार्यक्रम हेडलाइनर्समा बिहीबार बिहान कुराकानी गर्दै नेता खनालले आफूले सम्मानित पदमा बसेर मुलुकको सेवा गर्ने र बिस्तारै अवकाश लिने सोचेपनि पार्टीको स्थायी कमिटीको निर्णयले आफूलाई सक्रिय राजनीतिमा लाग्न प्रेरित गरेको बताउनुभयो ।
नेता खनालले राजनीति धेरै पक्षहरुबीचको अन्तरखेल भएकाले यी सबै अवरोध र तगराहरुलाई पन्छाएर पार्टी सुदृढीकरण र मुलुकको हीतका लागि सैद्धान्तिक, सांगठनिक र बैचारिकरुपमा आफू सक्रिय हुने उल्लेख गर्नुभयो । उहाँले एमाले पार्टी भित्र थुप्रै बिकृती भएकाले त्यसलाई बढार्न आफनो भूमिका रहने र अब चूप लागेर बस्न नसकिने स्पष्ट पार्नुभयो ।
वरिष्ठ नेता खनालले पार्टीले उम्मेदवार बनाएकी बिद्या भण्डारीको बिजयका लागि शुभकामना दिंदै बजारमा उठेका आशंका र आरोपलाई चिर्दै अघि बढ्न पनि सुझाव दिनुभयो । उहाँले आफू राष्ट्रपतिको उम्मेदवार बन्न नसक्दा निराश नभएको बरु दश गुना जोश जाँगर बढेको उल्लेख गर्नुभयो ।
माओवादी केन्द्रसंगको पार्टी एकता अप्रिल महिनाभित्र पूरा हुने नेता खनालको भनाइ थियो । उहाँले एकीकृत पार्टीको सम्भावित अध्यक्ष आफू पनि भएको जानकारी दिनुभयो । एकीकृत पार्टीको नेतृत्वका लागि कुनै सहमति नभएकाले नयाँ पार्टीको नेतृत्व आफूले गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
नेता खनालले राष्ट्रपतिको उम्मेदवारमा आफूले दाबी गरिरहँदा आफूलाई सहयोग गर्ने नेता, कार्यकर्ता, संचारमाध्यम तथा शुभेच्छुकलाई धन्यावाद समेत ज्ञापन गर्नुभयो ।


