![]()
काठमाडौं । व्यवस्थापिका संसद्को बैठकमा मंगलबार राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुले सम्बोधन गरे । कसले के बोल्छन भन्ने कौतुहलता सबैमा थियो । नयाँ प्रतिनिधिसभाको बैठक भएकाले नयाँ सांसद र सर्वसाधारणमा त्यो चासो हुनु स्वभाविक पनि थियो ।
संसद बैठकलाई प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेनन । एमालेकातर्फबाट वरिष्ठ नेता माधव नेपालले सम्बोधन गरे । उनले सरकार, बिपक्षी सबैलाई सन्तुलित ढंगले सम्बोधन गर्दै आफना कुरा राखे ।
नेता नेपालले अब देशले कोल्टे फेर्न खोजिरहेको बताउँदै प्रधानमन्त्रीको खुट्टा तान्ने काम गर्न नहुने बताएर ओलीको मन राखे । विगतमा विभिन्न संसदीय समितिहरुले सरकारको खुट्टा तान्ने गरेकाले मुलुक अघि बढन नसकेको बताउँदै उनले अदालत र अख्तियार पनि ठाउँमा बस्नुपर्ने बताए ।
अब सरकारले कानूनी संरचना गर्नुपर्ने सुधारका साथै भ्रष्टाचार अन्त्य गर्ने कुरामा जोड दिनुपर्ने नेता नेपालले बताए । ‘जनताले आशा भरोसा गरेका छन, यसमा संसदले सक्रिय भूमिका खेल्नुपर्छ ।’
नेता नेपालले वामपन्थी सरकारले लोकतन्त्र मास्छ कि भनेर नडराउन विपक्षी नेपाली कांग्रेसका नेताहरुलाई पनि आस्वस्त पारे । संसदीय व्यवस्थामा सबैको पालो आउने भन्दै उनले कांग्रेसलाई ‘हनिमुन पिरियड’ नै मनाउन नदिने भन्ने किसिमका कुरा नगर्न सुझाव दिए ।
तुलनात्मक रुपमा प्रचण्ड फितलो
अन्य समयको भन्दा मंगलाबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन फितलो देखियो । उनले पुरानै शब्दसंजाल बिछ्याउँदै जनआन्दोलन, जनयुद्ध, गणतन्त्र, बामगठवन्धन, बामएकता, क्रमभंग, कायापलट जस्ता शब्द प्रयोग गरे । नयाँ संसदलाई कुनै नयाँ सन्देश र नयाँ पन उनले दिन सकेनन ।

दाहालले चीन र भारतलाई समान सम्बन्ध राखेर अगाडि बढ्न चाहेको बताउँदै आफूहरु नेपाल परस्त भएको बताए । उनले मुलुकमा भ्रष्टाचार ब्याप्त रहेकाले त्यसलाई अन्त्य गर्नुपर्ने बताइरहेकाबेला एमाले सांसदहरु नै कानेखुशी गरिरहेका थिए ।
एमाले र माओवादी केन्द्रबीच केही दिनमै पार्टी एकता हुने उनले बताए ।


