![]()
एजेन्सी । आइसीसी बिश्वकप छनोट खेल्न जिम्बाबेमा रहेको नेपालले आइतबार आयोजक जिम्बाबेसंग प्रतिष्पर्धा गर्दैछ । सुपर सिक्समा पुगेर वान डे स्ट्याटस पाउने लक्ष्य राखेको नेपाली टोलीका लागि हरेक खेल महत्वपूर्ण हुनेछन ।
जिम्बाबेले लगातार पछिल्ला ९ विश्वकपमा सहभागीता जनाएको छ । तुलनात्मक रुपमा नेपाल भन्दा जिम्बाब्वे बलियो टोली हो । जिम्बाबेको आफनो होम ग्राउण्ड भएकाले यसको फाइदा पनि घरेलु टोलीलाई हुनेछ ।
कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी २० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।
आइतबारको खेलमा जिम्बाबेलाई स्तब्ध तुल्याउन सके नेपालसँग अरु राष्ट्रहरु तर्सिनेछन् । नतिजा जिम्बाब्वेको पक्षमा गए नेपालको यात्रा कठिन हुनेछ ।
डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ । डिभिजन २ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ ।
नेपाली टिममा टिममा कप्तान पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लको ब्याटिङबाट धेरै अपेक्षा गरिएको छ । ज्ञानेन्द्र मल्लको पछिल्लो खराब र्फम नेपालका लागि चिन्ताको विषय बनेको छ । कप्तान पारस खड्का लयमा छन् । उनी डिभिजन २ प्रतियोगिताभरी सबैभन्दा बढि रन बटुल्ने र सबैभन्दा बढि छक्का हान्ने ब्याट्सम्यान थिए । अर्का अनुभवी ब्याट्सम्यान शरद भेषवाकर पछिल्लो केही समययता स्थिर प्रदर्शन गर्दै आएका छन् । दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, दिलिप नाथ जस्ता युवा खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ ।
तल्लो मध्यक्रममा ब्याटिङ गर्ने आरिफ र रोहित पौडेलले डिभिजन २ प्रतियोगितामा नेपाललाई ठूलो शक्ति प्रदान गरेका थिए । अहिले उनीहरुबाट ठूलो आश गरिएको छ ।
नेपाली टिमको सबैभन्दा कमजोर कडी यतिबेला देखिएको छ फास्ट बलिङ । डिभिजन २ मा सोमपाल कामी र करण केसीलाई नेपालले स्ट्राइकिङ फास्ट बलरका रुपमा उतारेको थियो ।
तर, उनीहरुमध्ये करण केसीको बलिङ पुरै फ्लप रह्यो । उनले न विकेट लिन सके, न रन रोक्न । अर्का फास्ट बलर सोमपाल कामीमा विकेट लिने क्षमता भए पनि उनको प्रदर्शनमा एकरुपता देखिएको छैन । नेपालका तेस्रो फास्ट बलरको रुपमा कप्तान पारस खड्काले खेल्ने छन् । तर ब्याटिङमा जस्तो बलिङमा उनको भर गर्न सकिँदैन । यद्यपि उनी प्राय किफायति रहन्छन् ।
यो प्रतियोगितामा नेपालले सोचेजस्तो नतिजा निकाल्नका लागि नेपालको सबैभन्दा ठुलो हतियार भनेको स्पिन बलिङ नै हो । त्यसो त जिम्वाबेको पिच सामान्यतया फास्ट बलिङ फ्रेन्ड्ली हुन्छ । यो प्रतियोगितामा ‘स्पिन’ ठूलो फ्याक्टर हुन सक्छ । नेपालका बसन्त रेग्मी, शक्ति गौचन र सन्दिप लामिछानेबाट पनि ठूलो आशा गरिएको छ ।


