![]()
पर्सा । वीरगन्जमा बुधबार राति व्यापारी उमेश चौरसियामाथि गोली प्रहार गर्ने घटनामा संलग्न चारजनालाई पर्सा प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा उमेशकी श्रीमती प्रियंका चौरसिया, उनका प्रेमी बारा, परवानीपुर–१ का विकेन्द्रकुमार गुप्ता, सोही ठाउँका मनोज गुप्ता र वीरगन्ज–१२, मुर्लीका मुन्ना साह कानु रहेका छन् ।
बुधबार राति भैरहवाबाट घर (वीरगन्ज) फर्कंदै गरेका उमेशमाथि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासपछाडि गोली प्रहार भएको थियो । उमेश १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा दुबई बसेर फर्केका हुन् ।
नेपाल फर्केर धागोको व्यापार थालेका उमेशको हत्या हत्या गरेर विवाह गर्ने योजनाअनुसार विकेन्द्र र प्रियंकाले मनोज गुप्तालाई हत्याको ‘सुपारी’ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उमेश दुबईमा रहेकैबेला विकेन्द्र र प्रियंकाबीच ‘अवैध सम्बन्ध’ गाँसिएको थियो । हत्यामा प्रयोग भएको एउटा पेस्तोल र एउटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।
गोली प्रहारबाट घाइते भएका उमेशलाई काठमाडौं लगेर उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको पेट र कोखामा गोली लागेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।
उनकी श्रीमती प्रियंकालाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको छ भने अरु अभियुक्तलाई वीरगन्जबाट पक्रेको हो ।


