Breaking News.... EverestOnlineKhabar
August 13, 2026

पूर्व प्रधानमन्त्री खनाल र चिनियाँ उपविदेशमन्त्री गाओबीच भेटघाट, नेता खनालले भने–‘पाँच बर्षमा रेल आएको हेर्न चाहन्छौं । ’

Loading

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपाल भ्रमणमा आउनु भएका चिनियाँ उपविदेशमन्त्रि गाओ एझाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताकाक्रममा चिनिया उप विदेश मन्त्री गाओ एझाओले नेकपा एमालेले चुनावमा सफलता हासिल गरी एमालेको नेतृत्वमा सरकार गठन गरेकोमा बधाई दिँदै खुशी ब्यक्त गर्नुभयो । नेपालका ठूला दुइ वाम पार्टीहरु एकता प्रक्रियामा गएकोमा समेत उहाँले खुशी व्यक्त गनुृभएको थियो ।

मन्त्री गाओ एझाओले चिनिया कम्युनिष्ट पार्टी कुनै पनि राजनीतिक दललाई चिनिया मोडल अबलम्बन गर्न कहिल्यै दवाब नदिने तर एक आपसमा सिक्न र सहयोग आदानप्रदान गर्न भने सधैं अभिप्रेरित गरिरहने धारणा राख्नुभयो । गत बर्ष चिनिया कम्युनिष्ट पार्टीको आयोजनामा भएको विश्वका राजनीतिक पार्टीहरुको सम्मेलनमा राष्ट्रपति सि जि पिङले भनेको कुरा दोहर्याउनदै उहाँले भन्नुभयो– ‘हामी सबैसँग एउटै भविष्य र साझा भाग्यका लागि सहकार्य गर्ने छौं ।’

भेटकाक्रममा मन्त्री एझाओले एमाले नेतृत्वको सरकारकाबेला नेपाल चीनबीच भएको १० बुँदे सम्झौता कार्यन्वयनमा तीव्रता आउने बिश्वास समेत व्यक्त गर्नुभयो ।  नेपालमा रेल जोड्ने र अन्य विकासका पूर्वाधारमा पनि सहयोग पुर्याउनेबारे आफू व्यक्तिगत रुपमा पनि लागि पर्ने उपमन्त्री एझाओले बताउनु भएको थियो ।

जवाफमा पूर्व प्रधानमन्त्री खनालले उपमन्त्री गाओको टोलीसंग भेटघाट गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘बाम सरकार गठन र नेपालका दुइ ठूला वाम घटकमाझ भएको एकताका अवसरका बेला चिनिया कम्युनिष्ट पार्टीको टिमलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । ’

नेता खनालले नेपालको कम्युष्टि आन्दोलनको विभाजन र एकताको प्रक्रियाको ब्याख्या गर्दै आफूहरु करिव ३ दर्जन भन्दा बढी कम्युष्टि पार्टीहरु एकता गर्दैं यहाँसम्म आइपुगेको र यो वाम एकता इतिहासकै सबैभन्दा महत्वपूर्ण भएको औल्याउनु भयो । उहाँले यो वाम एकता अब कसैले चाहेर पनि भाँड्न नसक्ने बताउँदै नेतृत्व ब्यवस्थापन र पार्टीका सिद्धान्तलाई विकास गर्दै एकरुपतातर्फ जाने कुरा स्पष्ट पार्नुभयो ।

नेता खनालले प्रजातन्त्रको सुदृढीकरण, राष्ट्रियताको संरक्षण, सामाजिक र सांस्कृतिक एकता कायम, आर्थिक सामाजिक रुपान्तरणका, सन्तुलित विदेश नीतिको कार्य अघि बढाउने कार्यभार वामहरुको काँधमा आएको उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो–‘अब हामी नेपाली जनता चीनसँगको सहकार्यमा ५ वर्षमा नेपालमा रेल आएको हेर्न इच्छुक छौं ।’
दुइपक्षिय भेटघाटमा चीनको विदेश विभागका उपनिर्देशक मा स्युसोङ, नेपालका लागि चिनिया राजदुत यु होङ, विदेश विभागका प्रथम सचिव लिन ताव, उपनिर्देशक साव लियाङ, तेश्रो सचिव चेन जियान, उप सचिव चेन सुवान बो र चिनिया दुतवासका राजनीतिक एट्याची जि गुवानलि लगायतको चिनिया प्रतिनिधिमण्डल रहेको थियो ।

नेता खनालसँग युरोपियन युनियनका लागि पूर्व नेपाली राजदुत प्रमेश हमाल, नेता खनालका विदेश मामला सहयोगी योगेन्द्र शाही, स्वकिय सचिव कृष्ण भट्टराई लगायतको टोली रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed