Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ओली– दाहाल ‘वान टु वान’ वार्ता निष्कर्षविहीन, एकता संयोजन समितिको बैठक प्रभावित

Loading

भक्तपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार निर्माणबारे जटिलता झन थपिन थालेको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको तीन दिन भैसक्दा पनि माओवादी केन्द्र सरकारमा सहभागी नहुनु र पार्टी एकताका बिषयमा समेत ठोस निर्णय हुन नसकेपछि जटिलता बढेको हो ।

बाहिर दुवै पार्टीका नेताहरुले केही दिनमै प्याकेजमा सहमति हुने बताएपनि नेकपा एमाले माओवादी केन्द्रलाई सम्मानजनक स्थान दिन असहमत भएपछि भित्रभित्रै समस्या झन बिकराल बन्न थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फागुन १ गते जनयुद्ध दिवसकै दिन पार्टी एकता घोषणा हुने बताएका थिए । यो बिचमा दुवै पार्टीका अध्यक्षबीच थुप्रै पटक ‘वान टु वान’ वार्ता हुँदा समेत कुनै प्रगती हुन सकेको छैन । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भैसक्दा समेत एकता प्रक्रियामा गति नआएपछि माओवादी सशंकित भएको छ । माओवादी केन्द्रीय कार्यालय बैठकले एकता र सरकार निर्माण एकसाथ गर्ने निर्णय गरेको थियो ।

शनिवार पनि माओवादी अध्यक्ष दाहाल सहमतिका लागि प्रधानमन्त्रीको नीजि निवास भक्तपुरको बाल्कोट पुग्नु भएको थियो । प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओलीसंग उहाँले एक घण्टा एक्लै कुरा गर्नुभयो । छलफलपछि बाहिरिदै उहाँले सकारात्मक भेट भनेपनि कुनै निर्णय हुन सकेन । भेट परिणाममुखी नभएपछि शनिवार नै बस्ने भनिएको पार्टी एकता संयोजक समितिको बैठक पनि आइतबारका लागि सारिएको छ । समितिको बैठक पटक–पटक सर्दै आएको छ ।

भेटबारे प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले पनि आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिए ।
यो बिचमा माओवादी केन्द्रका केही प्रभावशाली नेता र कांग्रेसका नेताहरुबीच राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचनमा सहकार्य गर्ने बिषयमा गोप्य छलफल भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed